नेपालको भूभाग कायम गर्न र कालापानीमा रहेका भारतीय सेना हटाउन संकल्प प्रस्ताव

काठमाडौं : प्रतिनिधिसभामा भारतले आफ्नो नक्सामा समावेश गरेको नेपाली भूमि लिम्पियाधुरासहित कालामानी क्षेत्र फिर्ता ल्याउन माग गर्दै दर्ता भएको संकल्प प्रस्तावमाथि आज छलफल हुँदैछ ।

 

बिज्ञापन

 

आज (बिहीबार) बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको पाँचौं अधिवेशनान छलफल हुने भएको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद एवं पूर्वमन्त्री खगराज अधिकारीले उक्त संकल्प प्रस्ताव दर्ता गरेका छन् भने सांसद रामकुमारी झाँक्री समर्थक रहेका छन् ।

 

उक्त संकल्प प्रस्ताव प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने संसद सचिवालयको कार्यसूचीमा छ । प्रस्तावमा कालापानी क्षेत्रमा रहेका भारतीय सेना हटाउनुपर्ने उल्लेख छ ।

 

‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कुटियाङदी र लिम्पियाधुरा क्षेत्र समावेश गरी नक्सा प्रकाशित गरेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै पनि प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकाले कुटनीतिक र अन्य पहलकदमी गरी नेपालको भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएको’ संकल्प प्रस्तावमा उल्लेख छ ।

 

 

भारतले गत कात्तिक १६ गते नेपाली भूभागसहित समेटिएको राजनीतिक नक्सा सार्वजनिक गरेको थियो ।