
काठमाडौं : अन्तरदेशीय संगठित अपराधविरुद्धको महासन्धि अन्तर्गतको पालेर्माे अभिसन्धिलाई आरक्षणसहित सर्वसम्मतले अनुमोदन भएको छ ।
प्रतिनिधिसभाको आज (बिहीबार)को बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रस्तुत गरेको सो महासन्धि सर्वसम्मतले अनुमोदन भएको घोषणा सभामुख अग्नीप्रसाद सापकोटाले गरेका हुन् ।
बैठकमा बोल्दै मन्त्री थापाले यसले अन्तरदेशीय अपराधिक संगठनलाई रोकथाम र नियन्त्रण गर्नको लागि महत्तपूर्ण भूमिका खेल्ने बताए ।
महिला र बालबालिकाहरूको बेचबिखन र ओसारपसारबाट नेपाल आक्रन्त भएकाले मानव बेचविखनलाई यसले निरुत्साहीत गर्ने विश्वास लिएको बताए ।
मानव बेचविखन रोक्नका लागि सरकार प्रत्यनशील रहेको पनि उनले जानकारी दिए । उनले भने–‘मानव बेचविखन रोक्न सरकारकोतर्फबाट सक्दो प्रयत्न गरिरहेको छ । योसँगै अन्तरदेशीय अपराधिक गतिबिधि रोक्न सरकारको तर्फबाट अन्य पहलहरू भइरहेको छ ।’
त्यसैगरी उनले नेपाल अन्तरदेशीय अपराध विरुद्धको महासन्धिमा पक्ष राष्ट्रको रुपामा हस्ताक्षर गरेको जानकारी गराए । अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पालेर्माे अभिसन्धिलाई सदनमा समर्थन गरेकोमा उनले सांसदहरूलाई धन्यावाद दिए ।