
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।
नयाँ वर्ष २०७७ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उनले कोरोना भाइरसले १ लाखभन्दा बढी मानिसको जीवन समाप्त पारिसकेको र लाखौंँलाख संक्रमणबाट प्रभावित भएर जीवनका निम्ति संघर्ष गरिरहेका बेला आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिएकी छिन् ।
सन् २०१९ को अन्त्यतिर विश्वव्यापी महामारीको रूप लिएको कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नुपर्ने देखिएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छिन् ।
‘नेपाल सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर भएसँगै विकासका प्रयास तीव्रताका साथ अगाडि बढेका छन् । गत वर्ष हामीले महत्वपूर्ण आर्थिक वृद्धि हासिल गर्न सफल भयौँ ।’ उनले शुभकामना सन्देशमा भनेकी छिन्, ‘विनाशकारी भूकम्पले भत्काएका निजी आवास तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणमा सफलता हासिल भएको छ । राष्ट्रव्यापी सडक सञ्जाल निर्माणमा निरन्तरता, विभिन्न जलविद्युत् परियोजनाहरू सम्पन्न हुने क्रमले यस वर्ष हाम्रो राष्ट्रिय आय र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिरहेकै बेला हामी विश्वव्यापी महामारीको चपेटामा परेका छौंँ ।’
कोरोना सिर्जित यस विपद्मा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको बताउँदै राष्ट्रपतिले उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि नयाँ वर्षले ऊर्जा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेकी छिन् ।
महामारीको संक्रमण रोक्ने उपायका रूपमा अवलम्बन गरिएको ‘लकडाउन’का कारण यसपटक नयाँ वर्ष मनाउने र हर्षोल्लास आदानप्रदान गर्ने कार्यमा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले नयाँ वर्षले राष्ट्रमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्दै शुभकामना दिएकी छिन् ।