शीघ्र परीक्षण टोली लिएर क्वारेन्टाइनमा प्रदेशसभा सदस्य

प्रदेश नं १ का प्रदेशसभा सदस्य सीता थेबे कोभिड–१९ सङ्क्रमणको जाँचका लागि रेपिड डाइग्नोष्टिक टेष्ट टोली लिएर पाँचथरमा रहेका क्वारेन्टाइनमा पुगेका छन् ।

 

गत १ चैत यता विदेशबाट फर्केर क्वारेन्टाइनमा रहेका तथा विगतमा क्वारेन्टाइनमा बसिसकेका व्यक्तिमा कोभिड–१९ सङ्क्रमणको जाँचका लागि स्वास्थ्यकर्मीको टोली लिएर उनी त्यहाँका ४ क्वारेन्टाइनमा पुगेका हुन् ।

 

प्रदेश नं १ सरकारले शनिबार पाँचथरका लागि २ सय थान आरडिटी किटसहित स्वास्थ्यकर्मीको टोली पठाएको थियो ।

 

कोरोना भाइरस सङ्क्रमणको सन्त्रासले सम्भावितको परीक्षण गर्न डराइरहेका स्वास्थ्यकर्मीलाई हौसला दिन प्रदेशसभा सदस्य थेबे आफैँ क्वारेन्टाइनमा पुगेका हुन् ।

 

प्रदेशसभा सदस्य थेबे स्वास्थ्यकर्मीको टोली लिएर फिदिम नगरपालिका तथा हिलिहाङ र फालेलुङ गाउँपालिकाका क्वारेन्टाइनमा पुगेका थिए ।

 

यस क्रममा फिदिम बजारस्थित फिदिम माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेका ८, फालेलुङको पाथीभरा कृषि सहकारीको भवन र पञ्चमुखी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेका १३ तथा हिलिहाङको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा रहेको क्वारेन्टाइनमा रहेका २४ जनाको रेपिड डाइग्नोष्टिक टेष्ट गरिएको थियो । परीक्षणबाट उनीहरु सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय तथा जिल्ला अस्पतालका स्वास्थ्यकर्मी सम्मिलित परीक्षण टोलीलाई हौसला दिन थेबे व्यस्त रहे । रासस