
कैलाली – कैलालीका चार र कञ्चनपुरका एक गरी पाँच जना कोरोना सङ्क्रमित भेटिएपछि सुदूरपश्चिममा भारतसँग सीमा जोडिएका क्षेत्रमा सशस्त्र प्रहरीले पहरा दिन थालेको छ ।




तेस्रो मुलुकबाट आउने सम्भावना न्यून रहे पनि सुदूरपश्चिमका लागि भारतसँगको खुला सीमाना चुनौती देखिएका वेला शसस्त्र प्रहरीले सीमा नाकामा पहरा दिन थालेका हुन् ।

लकडाउनपछिको केही दिन, भारतबाट लुकीछिपी आउनेलाई रोक्न नसक्नुले पनि सुदूरपश्चिम जोखिममा परेपछि सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको हो ।
सुदूरपश्चिममा कोरोना भाइरसका बिरामीको संख्या बढ्न थालेपछि भारतसँग जोडिएको सीमानामा चौबिसै घण्टा पहरा दिने गरी ३९ वटा सशस्त्र प्रहरीका अस्थायी पोष्टहरु थपिएका छन् ।
यसअघि १५ वटा मात्रै स्थायी पोष्टहरु रहेकामा अब त्यो संख्या ५४ पुगेको छ ।
सशस्त्र प्रहरी वैद्यनाथ बाहिनी अत्तरियाले त्यसले पनि नपुगेपछि एक दुई दिनमा थप ९ वटा पोष्ट राख्ने तयारी भइरहेको जनाएको छ ।
सिमानामा कडाइ गर्नु भन्ने निर्देशन भएपछि पहाडको जनशक्ति तराई झिकाएर पनि सीमानामा खटाउन थालिएको सशस्त्र प्रहरीका प्रवक्ता प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले भारतमा पनि कोरोनाका बिरामी बढिरहेकाले सुदूरपश्चिम बढी खतरामा रहेकाले चौबिसै घण्टा पहरा दिने गरी सशस्त्र प्रहरी पोष्ट राखिएको छ ।
सुदूरपश्चिम प्रदेशमा कैलालीको खक्रौलादेखि दार्चुलाको तिंकरसम्म ५३३ किलोमिटरको खुला सिमाना छ ।
सुदूरपश्चिमका ९ जिल्लामध्ये दार्चुला, डडेल्धुरा, बैतडी, कैलाली र कञ्चनपुर गरी पाँच जिल्ला भारतसँग जोडिएका छन । अझ कैलाली र कञ्चनपुरमा त झण्डै दुई सय ३० किलोमिटरको खुला सीमाना छ ।
कञ्चनपुरको केही भाग भएर दार्चुलासम्मका जिल्लामा महाकाली नदीले सीमाना छुट्याएको छ ।
सशस्त्र प्रहरीले महाकाली नदी सीमाना भएका तर तर्न लायकका घाटहरुमा पनि प्रहरीको पोष्ट राखिएको जनाएको छ ।
बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बैतडीका सम्भावित घाटहरुमा पनि सशस्त्रको अस्थायी पोष्ट राखिएको बताउनुभयो ।
बैतडीका ६ ठाउँ, शिवनाथको कुस्मौद घाट, पञ्चेश्वरको रोलघाट, पञ्चेश्वरको विनायक घाट, पञ्चेश्वर गाउँपालिकाको रोडीदेवल, दशरथचन्द नगरपालिकाको वडा नं १० बाराकोट र दशरथचन्द नगरपालिका वडा नं ६ को सेरामा सशस्त्र प्रहरी खटाइएको छ ।
यसअघि भारतको चम्पावतबाट लुकेर कञ्चनपुरको ब्रम्हदेवको बाटो आएका बेदकोटका ४१ वर्षका व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो ।
सशस्त्र प्रहरीले तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै ३४ वटा अस्थायी पोष्ट थपेको छ ।
खुला सीमाना भएको स्थानबाट कोही पनि लुकेर प्रवेश नगरोस् भन्न कम्तिमा पनि दुई सय मिटरदेखि एक किलोमिटरसम्मको दूरीमा अस्थायी पोष्टहरु राखिएका छन् ।
एउटा पोष्टबाट पनि थप दुई तीन जनाको ग्रुप बनाएर चौबिसै घण्टा ड्यूटी लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।