
काठमाडौं : भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको मेची सीमा नाका सिल गरेको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै बंगाल सरकारले नेपालको पूर्वी नाका अनिश्चित कालका लागि भन्दै मेची नाका सिल गरेको हो ।
मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न समेत निर्देशन दिएको छ । नाका बन्द भएपछि ग्यासका बुलेट, तरकारी, फलफूल जस्ता वस्तुको आयात बन्द हुने भएको छ ।
पश्चिम बंगाल भन्सार विभागका जोइन्ट कमिस्नर एसके मोहापात्रले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने र नाकामा आएर रोकिएका वस्तुलाई रि–रुट गरी अन्य नाकाबाट पठाउन भारतीय भन्सारका अधिकारीलाई निर्देशन दिएको विश्वकर्माले बताए ।
भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको उनले बताए ।