
काठमाण्डौ – बाढी र पहिरोको जोखिममा रहेका सडक र पुलको काम फेरि सुरु हुने भएको छ ।




काम हुने मुख्य महिना अर्थात चैत वैशाखमै लकडाउनको कारण काम रोकिएपछि बन्दै गरेका केही पुल र सडक बाढी र पहिरोको जोखिममा रहेका थिए ।

निर्माणको क्रममा रहेका झण्डै ७० वटा पुल बाढीको उच्च जोखिममा रहेका थिए भने मध्यपहाडी, हुलाकी, मदन भण्डारी सहित मुख्य राजमार्गका केहि खण्ड पनि बर्खा अघि नै निर्माण पूरा गर्नुपर्ने थियो । तर काम रोकिँदा चिन्ता बढेको थियो ।
जोखिममा रहेका पुल र सडकको काम सुरक्षित तरिकाले गर्नको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रस्ताव पेश गरेको थियो ।
समितिको बैठकले यसबारेमा अति सतर्क भएर कामको लागि सहजीकरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । गृहले वैशाख ४ गते ६२ वटा जिल्ला प्रशासनलाई पत्र लेखेर सुरक्षित रहेर र कोरोनाको सङ्क्रमणलाई ध्यान दिएर काम सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
काम सञ्चालन हुने वातावरण मिलेको भन्दै सडक विभागले पनि सडक विभाग अन्तरगतका कार्यालयलाई चिठि लेखेर काम थाल्न निर्देशन दिएको महानिर्देशक केशव शर्माले जानकारी दिनुभयो ।
‘जोखिम झनै बढेको छ, निकै सतर्क रहेर, दूरी कायम गरेर, भिडभाड नगरी काम गर्नुपर्ने आवश्यकता छ, त्यसै अनुसार हामीले निर्देशन दिएका छौं ।’ महानिर्देशक शर्माले भन्नुभयो ।