
काठमाडौं : राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सरकारले कोरोनाभाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि देशभर लकडाउन गर्न बाहेक जनजीजन सहज पार्न नसकेको आरोप लगाएको छ ।
कोरोनासँग विश्व लडिरहेका बेला सरकार भने असंवैधानिक कदममा व्यस्त रहेका कारण महिनाभन्दा लामो समयदेखि जारी लकडाउनबाट जनता प्रत्यक्ष मारमा परेको बताएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंहद्वारा विज्ञप्तिमा–‘राहत वितरण गर्नेलाई गिरफ्तारी गर्ने, राहत माग गर्ने विद्यार्थीहरुमाथि धरपकड गर्ने कार्य भएको अवस्था छ । यस्ता कार्यहरुको घोर भत्सना गर्दै दोषिमाथि कानुनी कारबाही गर्न, अप्ठ्यारो परेका विद्यार्थीहरुलाई तत्काल उचित राहत दिन, राहतमा अनियमिता गर्ने स्थानीय तहमाथि तत्काल छानबिन गर्न र लकडाउनका कारण देशभित्र र विदेशमा अलपत्र परेका नेपालीहरुको स्वास्थ्य एवं सुरक्षाबारे उचित कदम चाल्न राप्रविसं जोडदार माग गर्दछ ।’
अध्यक्ष सिंहले काठमाडौंमा अलपत्र परेका नागरिकहरुलाई राज्यले माण्दण्ड बनाएर उनिहरुको स्वास्थ्यलाई ध्यान दिँदै घर जाने सहज व्यवस्था गर्न पनि माग गरेका छन् ।
‘केहीदिनदेखि राज्यको नीति निर्माण तहमा रहेका मन्त्री सांसद् लगायतका जनप्रतिनिधिले सिमित तथा आफु अनुकुल मान्छेहरुलाई काठमाडौं उपत्यका र देशका अन्य स्थानबाट घरसम्म पुर्याउने कार्य गरिरहेका छन् । तर, राज्यसँग र जनप्रतिनिधिसँग सम्बन्ध नभएकाहरु अलपत्र परेका छन् । अलपत्र परेका सबैलाई राज्यले मापदण्ड बनाएर उनिहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै घर जान पाउने सहज व्यवस्था गर्न पनि हाम्रो संगठन जोडदार माग गर्दछ ।’ जारी विज्ञप्तिमा लेखिएको छ–‘कोराना नियन्त्रणका लागि भएका सरकारी कदम, राहत वितरणमा भएको खर्चको विवरण र ध्वस्त भएको देशको आर्थिक अवस्थाको सुदृढीकरणका लागि लकडाउनको स्वरुप परिवर्तन गर्न र विशेष आर्थिक प्याकेजको व्यवस्था गर्दै श्वेतपत्र जारी गर्न सरकारसँग विशेष आग्रह छ ।’
साथै विश्वभर फैलिएको स्वास्थ्य माहामारीमा पनि यसको नियन्त्रणको लागि अहोरात्र खट्नु हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र कर्मचारीवर्ग प्रति हार्दिक आभार व्यक्त गर्दै कोरोनालाई पराजित गर्न लकडाउनलाई पूर्णत पालना गर्न र कोरोनाविरुद्ध लड्न राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आग्रह गरेको छ ।
