
प्रदेश १ पछि कोरोनाको इपीसेन्टर बनेको प्रदेश–५ मा कोरोना संक्रमणको परीक्षण भने सुस्त गतिमा अघि बढेको छ ।




सोमबार साँझसम्म यो प्रदेशमा दु्रत परीक्षण विधि (र्यापिट टेस्ट) बाट ५ हजार १९८ जनाको मात्र परीक्षण भएको छ । त्यस्तै, स्वाब परीक्षणबाट १ हजार २ सय ८९ जनाको परीक्षण भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्थानीय तहमा किटको अभावका कारण आरडीटी परीक्षण द्रुत गतिमा हुन सकेको छैन भने प्रदेश स्तरको प्रयोगशालासमेत किट अभावकै कारण बन्दै भइसकेको छ ।
निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार प्रदेश–५ मा ८० हजार आरडीटी किट आवश्यक छ । पहिलो चरणमा १० हजार मात्र किट प्रदेशका सबै स्थानीय तहमा पठाइएको थियो । अहिले स्थानीय तहले किट अभाव भएको भन्दै क्वारेन्टाइनमा र होम क्वारेन्टाइनमा आरडीटीको माध्यमबाट परीक्षण गराउन सकेका छैनन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार साँझसम्म प्रदेशमा ९ हजार २ सय १० जना क्वारेन्टाइनमा छ । सबैभन्दा धेरै रोल्पामा ४ हजार १६५ जना क्वारेन्टाएनमा रहेका रहेका छन् ।
त्यस्तै, बर्दियामा ३ हजार ५१६, गुल्मीमा १ हजार ४७, बाँकेमा १ हजार १५, प्युठानमा १ हजार ३२४, रुपन्देहीमा ६ सय १३, कपिलवस्तुमा १ हजार ३१३, अर्घाखाँचीमा ५ सय ४१, पाल्पामा ५ सय ६, नवलपरासीमा ३ सय १५, दाङमा २ सय ८२ र रुकुम पूर्वमा ५ सय ७ जना क्वारेन्टाइनमा रहेका निर्देशनालयले जनाएको छ । यी सबैको आरडीटी गराएपछि मात्र स्थानीय तहले घर पठाउने गरेको छ ।
नेपालगञ्ज कोरोनाको इपीसेन्टर बनिरहँदा प्रदेश सरकारले परीक्षणको दायरा बढाउन सकेको छैन । कोरोना संक्रमण दरलाई न्यूनीकरण गर्न र परीक्षण प्रभावकारी बनाउन भन्दै जिल्ला प्रशासन कार्यालयले आज विहान ११ बजेदेखि २५ गते मध्यरातीसम्म नेपालगञ्जमा पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रदेश–५ मा नेपालगञ्जमा २३ र रुपन्देहीमा १ गरी २४ जनामा कोरोना पुष्टि भइसकेको छ । नेपालगञ्जका कोरोना संक्रमितमा लक्षण केही नदेखिएकाले समुदायमा प्रवेश गरेको आँकलन गरिरहँदा अब लकडाउनको पूर्ण पालनासँगै परीक्षणको दायरा फराकिलो बनाउनुको विकल्प नभएको विज्ञले बताइरहेको छन् । तर, परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने अवस्थामा किट अभावकै कारण प्रयोगशाला नै बन्द भएको छ ।
किट अभावकै कारण १ महिना नहुँदै प्रयोगाशाला बन्द भएको हो । रुपन्देहीको गहुँबाली अनुसन्धान केन्द्रमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गत २३ चैतमा नमुना परीक्षण सफल भएपछि स्वाब परीक्षण सुरू गरिएको भएपनि २ दिनदेखि त्यहाँ परीक्षण हुन सकेको छैन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले किट अभाव भएपछि प्रयोगशाला बन्द भएको र परिक्षणका लागि आएका स्वाब काठमाडौं पठाउन थालिएको बताए ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आरडीटी र पीसीआर विधिबाट परीक्षण हुँदै आएको थियो । थ्रोट स्वाबको नमुना संकलन गरेपछि त्यसको प्रोसेसिङका लागि आवश्यक पर्ने कीट अभावले परीक्षण प्रभावित भएको हो ।
आवश्यक किट पठाउनका लागि केन्द्रमा कुराकानी भइरहेको उनको भनाई छ ।
हरेक प्रदेशमा १/१ वटा प्रदेशस्तरीय कोरोना परिक्षण प्रयोगशाला स्थापना गर्ने संघीय सरकारको निर्णय र सहयोगमा प्रदेश–५ को लागि भैरहवामा प्रयोगशाला स्थापना गरिएको थियो ।
सुरुवाती समयमा आवश्यक जनशक्ति नहुँदा प्रयोगशालामा परीक्षण ढिलाई भएकोमा अहिले महिना दिन नहुँदै किट अभाव भएपछि प्रयोगशाला बन्द हुने अवस्थामा पुगेको हो ।