संसदमा तीन दिन प्रिबजेटबारे छलफल

काठमाडौं : संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा आज (आइतबार)बाट प्रिबजेटबारे छलफल हुँदैछ ।

 

बिज्ञापन

शुक्रवारबाट शुरु भएको संसदको बजेट अधिवेशनमा आज विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल हुन लागेको हो । यो छलफल तीन दिनसम्म चल्ने छ ।

 

बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र दिउँसो १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नेछन् ।

 

नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल गर्नु उपयुक्त हुने भए पनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण वैशाख २८ गतेबाटै प्रिबजेट छलफल गर्न लागिएको हो ।

 

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम छ । त्यसमा छलफल र छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रम सकिएपछि जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत हुने छ भने १५ गते आर्थिक वर्ष २०७७–७८ को बजेट पेश हुने छ ।