सरकारलाई संसदीय समितिले भन्यो–‘कोरोना परीक्षण बढाउँदै लकडाउन खुकुलो पार्नु’

काठमाडौं : संसदीय समितिले कोरोना परीक्षणलाई बढाउँदै लकडाउनलाई क्रमशः खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ ।

 

बिज्ञापन

सिंहदरबारमा आज (सोमबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले कोरोनाभाइरस नियन्त्रणका लागि पीसीआर परीक्षणलाई बढाउन र जारी लकडाउनलाई खुकुलो पार्न सरकारलाई निर्देन दिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्षको चैत ११ गतेदेखि लाकडाउन घोषणा गरेको हो ।

 

यसैगरी स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्डअनुसार बनाउन, आइसोलेसन बेडहरु पर्याप्त मात्रामा निर्माण गर्न, किसानहरुलाई मल तथा बीउबिजन उपलब्ध गराउन र उत्पादित वस्तु बजासम्म पुर्याउने वातावरण सहज बनाउनसमेत सरकारलाई समितिले निर्देशन दिएको छ ।

 

साथै विदेशमा अलपत्र परेका कारमदार र भारतसँगको सीमावर्ती क्षेत्रमा बसेका मानिसलाई संक्रमण नियन्त्रणसम्बन्धी विश्वव्यापी मापण्डअनुसार व्यवस्थित रुपमा घर फर्कने वातावरणको व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

 

उपप्रधानमन्त्री एवं कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले विदेशमा रहेका नेपालीहरुको समस्या समाधानका लागि प्रधानमन्त्रीस्तरबाटै सम्बन्धित देशमा कुरा भइसकेको र कुनै समस्या भए सम्बन्धित देशले नै समाधान गर्ने बताएका छन् ।

 

त्यस्तै बैठकमा उपस्थित गृहमन्त्री, स्वास्थ्यमन्त्रीले पनि आफ्नो कुरा राखेका थिए ।

 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय सीमा पारी करिब २१ सय नेपाली क्वारेन्टाइनमा रहेको जानकारी दिए भने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारसँग उपलब्ध भएका परीक्षण किटहरुको आधारमा कन्ट्याक्ट टे«सिङको मापदण्ड बनाई परीक्षण गरिएको बताए । साथै पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई पनि बढाइएको उनले बताए ।