
काठमाण्डौ – चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वैदेशिक अनुदान र ऋण दुवैमा कमी आएको छ ।
अर्थ मन्त्रालयका अनुसार नौ महिनामा १ खर्ब १८ अर्ब ८१ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । यसमध्ये अनुदान सहायता १६ अर्ब १९ करोड रुपैयाँ र ऋण सहायता १ खर्ब २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । आर्थिक प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमस १३ दशमलव ६ प्रतिशत र ८४ दशमलव ४ प्रतिशत रहेको छ ।
नौ महिनामा सरकारले १५ अर्ब १४ करोड रुपैयाँ वैदेशिक अनुदान पाएको छ । यो गत वर्षको तुलनामा ५ दशमलव १ प्रतिशतले कमि हो । गएको वर्षको पहिलो नौ महिनामा सरकारले १६ अर्ब ३८ करोड रुपैयाँ वैदेशिक अनुदान पाएको थियो ।
यस्तै वैदेशिक ऋण पनि १० दशमलव ५ प्रतिशतले घटेको छ । सरकारले नौ महिनामा ३३ अर्ब ६६ करोड वैदेशिक ऋण लिएको छ, गएको वर्ष यहि अवधीमा ३७ अर्ब ६१ करोड रुपैयाँ वैदेशिक ऋण लिइएको थियो । समग्रमा वैदेशिक सहयोग ८ दशमलव ९ प्रतिशतले घटेको छ ।
यो आर्थिक वर्षमा सरकारले ५७ अर्ब ९९ करोड वैदेशिक अनुदान र २ खर्ब ९८ अर्ब वैदेशिक ऋण गरी ३ खर्ब ५६ अर्ब ८२ करोड रुपैयाँ वैदेशिक सहायता परिचालनको लक्ष्य लिएको छ । यो कुल बजेटको २३ दशमलव २ प्रतिशत हो र गएको आर्थिक वर्षको तुलनामा १४ दशमलव ४ प्रतिशतले धेरै हो ।