संक्रमण फैलन नदिन सुनसरी र झापाका दस स्थानमा ‘होल्डिङ सेन्टर’ : १ हजार ५ सयभन्दा बढीलाई राख्न सकिने

विराटनगर — विभिन्न नाका हुँदै भारतबाट लुकीछिपी भित्रिने क्रम नरोकिएपछि त्यसरी आएकाहरूलाई राख्न ‘होल्डिङ सेन्टर’ बनाइएको छ । सुनसरी र झापाका विभिन्न १० स्थानमा त्यस्ता होल्डिङ सेन्टर बनाइएको प्रदेश सरकारले जनाएको छ ।

 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार सीमावर्ती सुनसरी र झापाका १० स्थानमा त्यस्ता सेन्टर बनाइएको छ । भारतबाट आएकाहरूलाई ती स्थानमा राखिने र स्वास्थ्य जाँच गरिने सरकारले जनाएको छ ।

 

विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइमा स्थान अभाव र संक्रमण विस्तार हुन सक्ने भन्दै बेग्लै होल्डिङ सेन्टरहरू बनाइएका हुन् । ती सेन्टरहरूमा १ हजार ५ सयभन्दा बढीलाई राख्न सकिने जनाइएको छ ।

 

विद्यालय, मदरसालगायत सार्वजनिक स्थानमा त्यस्ता सेन्टर बनाइएको छ । भारतबाट आएकाहरूलाई परिवार र गाउँलेसित सम्पर्कमा जान नदिइ ती सेन्टरमा राखिने भएको छ ।

 

भारतबाट भित्रिएकाहरू अधिकांशमा कोरोना संक्रमण देखिएपछि फैलने जोखिम बढेको छ । झापाको कचनाकवलमा मात्रै भारतबाट आएका ३३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

 

प्रदेशभरका क्वारेन्टाइनमा बस्नेको संख्या ११ सयभन्दा बढी छ । होम क्वारेन्टाइनमा साढे ८ हजारभन्दा बढी बसिरहेको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ