हेलिकोप्टरबाट उद्धार गरिएकी सुत्केरी महिलाको मृत्यु

भोजपुर । थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका वडा नम्बर ६ की सुत्केरी गंगा कार्कीको उपचारका क्रममा मृत्यु भएको छ ।

 

बच्चा गुमाएकी ३२ वर्षीया कार्कीलाई सेनाको हेलिकोप्टरबाट शुक्रबार ४ बजे थप उपचारका लागि काठमाडौं लगिएको थियो । उनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरेर थप उपचारका लागि लगिएको थियो ।

 

शुक्रबार राति साढे १० बजे उपचारका क्रममा थापाथली प्रसूति गृहमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डीएसपी मिमबहादुर लामाले बताए ।

 

प्रसव पीडाले च्यापे पछि कार्की चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी हुन भर्ना भएकी थिइन् । तर उनको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको चिकित्सकले पत्ता लगाएपछि विराटनगर स्थित नोबेल अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो ।

 

नोबेल अस्पतालमा मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन् । त्यहाँ उनका परिवारले २ लाख रुपैयाँभन्दा बढी खर्च गरेका थिए ।

 

अस्पतालमा शुल्क तिर्न समस्या देखिएपछि कार्कीलाई परिवारले घर फर्काएको थियो । तर फेरि समस्या देखिएपछि उनलाई हेलिकोप्टर मार्फत काठमाडाैं पठाइएको हो ।