
रौतहट : राजपुर नरसंहार काण्डमा ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा मोहम्मद अफताब आलम विरुद्ध रौतहट जिल्ला अदालतमा दर्ता भएको मुद्दामा आलमका तर्फबाट बहस गर्न काठमाडौंबाट नाम चलेका वरिष्ठ अधिवक्तहरु आउने क्रम जारी छ ।

वरिष्ठ अधिवक्ताहरु पीडितको पक्षबाट नभइ मानिसहरुलाई जिउँदै ईट्टाभट्टामा खसालेर जलाउनेको पक्षमा बहस गर्न यहाँ आउने चर्चाले रौतहट मात्र होइन संघीय राजधानी काठमाडौंमा पनि विशेष चर्चा पाएको छ ।



यस विषयमा सामाजिक सञ्जालमा पनि उनीहरुको चर्को आलोचना भइरहेको छ ।

आलमको पक्षमा वकालत गर्न पनि काठमाडौंबाट आधा दर्जन अधिवक्ता गौर आइपुगिसकेका छन् । हिजो (बुधबार)सम्म नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अभिवक्ता शेरबहादुर केसी, नेपाल डेमोक्रयाट लयर्स एसोसिएसनका अध्यक्ष योगेन्द्र अधिकारी, बारका पूर्वमहासचिव सुनिल पोखरेल, भुषण घिमिरेलगायत आइसकेका छन् ।
आज (बिहीबार) आलमको पक्षमा वकालत गर्न काठमाडौंबाट नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, हरिहर दाहाललगायत आधा दर्जन अधिवक्ता आउँदै छन् ।
१२ वर्षअघि भएको उक्त घटनामा पक्राउ परेका नेपाली कांग्रेसका सांसद (रौतहट(२) आलम गत असोज २६ देखि प्रहरी हिरासतमा छन्। जिल्ला न्यायाधीश दीपक ढकालको बेञ्चमा मंगलबारदेखि बयान दिइरहेका आलमको आज पनि बयान जारी छ ।
बयान सकिने बित्तिकै बहस गर्न काठमाडौंबाट चर्चित अधिवक्ताहरू रौतहट सदरमुकाम गौर पुगेका अधिवक्ताको संख्यामात्रै दर्जन बढी देखिएको छ।
त्यसोत उक्त घटनामा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप नारायण सिंह र ओसी अख्तरलगायत पीडितको पक्षबाट बहस गर्न काठमाडौंबाट पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलासहित वरिष्ठ अधिवक्ताहरू गोविन्द बन्दी, दिनेश त्रिपाठी, ओमप्रकाश अर्याल, आशिकराम कार्की, राजकुमार महासेठ, उमा शर्मालगायत गौर आइसकेका छन् ।