दलित युवाको हत्याको विरोधमा प्रदर्शन

काठमाडौं । अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्या गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

 

बिज्ञापन

नेपाल दलित विद्यार्थी संघले मंगलबार दिउँसो राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

 

प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई नछाड्न माग गरेका छन् ।

 

गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकको हत्या भएको थियो । अन्य २ जनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अन्य ३ जना बेपत्ता छन् ।

 

प्रेम सम्बन्धमा रहेकी प्रेमिकासँग बिहे गर्न गएका बेला विकको हत्या भएको बताइएको छ ।

 

घटनाबारे सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्न संसदलगायतमा माग भइरहेका बेला मंगलबार काठमाडौंमा प्रदर्शन भएको हो ।