सुन्दर श्रेष्ठको सुन्दर कार्य, विद्यार्थीलाई छात्रवृत्ति दिदै

मोरङ । उर्लाबारी—९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले गतवर्षझैँ यस वर्ष पनि १० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएका छन् । उनले स्थानीय प्रभात आधारभूत विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएका हुन् ।

श्रेष्ठले कक्षा १ देखि ८ कक्षासम्म अध्ययरत १० जना विद्यार्थीका लागि वर्षभरिका लागि आवश्यक पोशाक, कापीकलम, जुत्ता, ब्याग र मासिक शुल्क उपलब्ध गराउने भएका छन् । उनले पठनपाठनमा मन भएका विपन्न परिवारका विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि आफूले सहयोग गरेको बताए । उनले गतवर्ष पनि आफूले १० जनालाई छात्रवृत्ति दिएको बताउँदैै सोही कार्यलाई यस वर्ष पनि निरन्तरता दिएको बताए । उनका अनुसार यस वर्ष केही विद्यार्थी फेरबदल चाहिँ भएका छन् ।

उनले भने, ‘छात्रवृत्ति पाउने विद्यार्थीले छात्रवृत्ति पाएअनुसार प्रगति गर्न सकोस्, छात्रवृत्तिको सही सदुपयोग होस्, यस वर्ष उत्कृष्ट तथा विपन्न परिवारका नानीहरूलाई छनोट गरेका छौँ ।’

‘त्यसबेला घरको अवस्था दयनीय भएकाले हाम्रो पालामा पढ्ने बेलामा कहिले कापी किन्ने पैसा हुँदैन थियो, त कहिले कलम किन्ने, अहिलेजस्तो जुत्ता लगाउने, ब्याग बोक्ने कुरा त सपना जस्तै थियो । आज तिनै दिनहरू सम्झेर बाल्यकालमा भोग्नुपरेको समस्या महसुुस गरी छात्रवृत्ति उपलब्ध गराएको हुँ,’ उनले आफ्नो विगत सम्झँदै भने ।

व्यवस्थापन समितिले छनोट गरेर दिएका विद्यार्थीहरूका लागि उनले दिएको छात्रवृत्ति उपलब्ध गराइने विद्यालयका प्रधानाध्यापक मोहन चापागाईंले बताए । प्रअ चापागाईंका अनुसार यस पटकको छात्रवृत्ति पाउनेहरूमा मिलन जिमी, विमल विश्वकर्मा, कुशल लिम्बू, भूमिका खतिवडा, सजना लिम्बू, मनीषा लिम्बू, ओसिन मारापाँचे, सुमित लिम्बू, पूर्णमाया खड्का र अनिशा राई रहेका छन् ।

श्रेष्ठले यसअघि विद्यालयमा मञ्च बनाइदिनुका साथै पर्खाल निर्माण र रंगरोगनमा समेत सहयोग गरेका गरिसकेका छन् । उक्त विद्यालयका पूर्वविद्यार्थी समेत रहेका श्रेष्ठले विद्यालयका सबै विद्यार्थीका लागि अभिभावकसँग मिलेर ट्रयाकसुट पनि उपलब्ध गराउने तयारी गरिरहेको बताइएको छ ।