मन्त्री घिमिरेद्वारा रतुवामाइका क्वारेन्टाइन निरीक्षण  

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङको रतुवामाई नगरपालिकामा रहका क्वारेन्टाइनहरूको निरीक्षण गरेका छन् ।

संविधानसभा सदस्य तथा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको पहलमा स्वास्थ्य प्राविधिक टोलीका साथमा पुगेका मन्त्री घिमिरेले बिहीबार क्वारेन्टाइनको निरीक्षण गरेका हुन् । नगरका सबै क्वारेनटाइनको निरीक्षण गर्ने भनिएको भए पनि उनले समय अभावका कारण २ वटा क्वारेन्टाइनको मात्र निरीक्षण गरे ।

बिज्ञापन

मन्त्री घिमिरेले वडा नम्बर १ को शारदा आधारभूत विद्यालय र वडा नम्बर ६ को सौठा माध्यमिक विद्यालयको निरिक्षण गरेका हुन् । निरीक्षणपछि उनले नगरपालिकालाई १ सय थान भीटीएम हस्तान्तरण गरे । पीसीआर परीक्षणका लागि भीटीएममा राखेर स्वाब संकलन गर्ने गरिन्छ ।

मन्त्री घिमिरेको परीक्षणक्ष टोलीमा संविधानसभा सदस्य ऋषिकेश पोखरेल, प्रादेशिक प्रयोगशाला प्रमुख जयन्द्र यादव लगायत थिए ।

सामाजिक विकास मन्त्रालयले नगरलाई आवश्यक पर्ने थप आरडीटी कीट र भीटीएम क्रमशः उपलब्ध गराउँदै जाने मन्त्री घिमिरेले बताए । मन्त्रालयले दिँदै आएको आरडीटी कीट र भीटीएमले विशेष गरेर भारतबाट फर्किएका स्थानीयको कोरोना परीक्षणमा ठूलो टेवा पुगेको रतुवामाई–८ वडाध्यक्षअध्यक्ष गोपी चापागाईँले बताए ।

रतुवामाइमा अहिले ७ वटा क्वारेनटाइन रहेका छन् । यी क्वारेन्टाइनमा ३ सय ४२ जना रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष शाहले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ३७ जना क्वारेन्टाइनबाट घर फर्किएका छन् । नगरपालिकाले सामाजिक विकास मन्त्रालयबाट यसअघि २ पटक गरी १ सय थान भीटीएम प्राप्त गरिसकेको उनले जानकारी दिए ।

रतुवामाईमा अहिलेसम्म २ जनामा कोरोना पोजिटिभ पुष्टि भएकोमा १ जना बिहीबार डिस्चार्ज भएका छन् । १ जनाको विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचार भइरहेको रतुवामाई नगरपालिकाका मेयर रवीन राईले जानकारी दिए ।

यसैबीच, भारतबाट आएर नगरका विभिन्न क्वारेन्टाइनमा बसेका नगरवासीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको वडाअध्यक्ष चापागाईँले जानकारी दिए ।