
विराटनगर । केही अघिसम्म सिद्धबाबा अर्थात् कृष्णदास महाराज र उनको सुनसरी चतराधामस्थित आश्रमको निकै चर्चा थियो । अनुयायी बलात्कार आरोपमा महाराज पुर्पक्षमा झुम्का कारागार चलान भए । सिद्धबाबाको आश्रमबारे अनेकथरि परिचर्चा त्यसपछि पनि भइरहे ।




धेरैको प्रश्न हुने गर्दथ्यो, “त्यत्रो भव्य आश्रम अब कसले भोगचलन गर्छ होला ?”

कोरोना संक्रमणको महाविपद् सुरु भएपछि प्रदेश १ सरकारले सिद्धबाबाको आश्रमलाई कोरोना अस्पताल बनाउने निर्णय गरेको छ । सरकारले त्यहाँ १५० बेडको कोरोना अस्पताल सञ्चालन गर्ने तयारी स्वरुप काम अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिएका छन् ।
चतरास्थित सिद्धबाबा आश्रमको निरीक्षण गरेपछि मन्त्री घिमिरेले भने, “सबै संक्रमितलाई विराटनगर र धरानमात्र ल्याएर उपचार गर्न सम्भव छैन । भएको संरचनालाई प्रयोग गर्दै जाने नीतिअनुसार सिद्धबाबाको आश्रम पनि प्रयोग गर्न लागेका हौं ।” आश्रममा पर्याप्त मात्रामा कोठा र क्षेत्रफल रहेकाले पनि आइसोलसन निर्माणमा सहज हुने मन्त्री घिमिरेको भनाइ छ ।
कृष्णदासले सुनसरी–मोरङ सिंचाइ आयोजनाको बराहक्षेत्र चतरास्थित चतरा नहरको पश्चिम किनारको १३ बिघा जग्गामा रु. ८ करोड लागतमा १ सय २८ कोठे भवन निर्माण गरेका छन् ।
जगतगुरु श्रीरमानन्दाचार्य सेवापीठ चतराधामको नाममा बनेको भवन राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको थियो । पर्याप्त ठाउँ रहेकाले पनि आइसोलेसनका लागि उपयुक्त भएको प्रदेश सरकारको ठहर छ । त्यहाँ सुनसरी र उदयपुर तथा पहाडी क्षेत्रका संक्रमितलाई राखेर उपचार गर्ने सरकारको तयारी छ । सामाजिक विकास मन्त्रालयले त्यहाँ आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने तयारी गरेको छ । मन्त्री घिमिरे भन्छन्, “सरकारले तोकेको मापदण्डअनुसार आयुर्वेदिक पद्धतिबाट नै उपचार गर्ने हामीले योजना बनाएका छौं ।”
प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि साढे ४ सय बेडको आइसोलेसन उपचार केन्द्र निर्माणको घोषणा गरेको छ । ४ सय ५० बेडमध्ये १ सय ५० बेडको आइसोलेसनमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गरी तयारी सुरु भएको हो ।
मन्त्री घिमिरे भन्छन्, “चतराको १५० बेडको आइसोलेसन उपचार केन्द्रमा आयुर्वेदिक पद्धति अपनाउने विषयमा बराहक्षेत्रमै पुगेर छलफल पनि भइसक्यो ।” छफलमा सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, बराह क्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, तीनवटै सुरक्षा निकायका प्रमुख र कृष्णदास आश्रम व्यवस्थापन समितिका पदाधिकारी थिए ।
बराहक्षेत्रमा गरिने उपचारका लागि सामाजिक विकास मन्त्रालयबाट विज्ञसहितको आयुर्वेदको टिम खटिने मन्त्री घिरिमेले जनाए । बराहक्षेत्रमा आइसोलेसन उपचार केन्द्र निर्माणको काम सुरु भएको छ ।
प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ, झापाको दमक, सुनसरीको बराहक्षेत्र र नेपाली सेनाको पूर्वी पृतना इटहरीमा गरी ४ सय ५० बेडको आइसोलेसन उपचार केन्द्र निर्माणको घोषणा गरेको छ । कोरोनाको लक्षण देखिएकालाई कोभिड अस्पताल र कोरोना रिपोर्ट पोजेटिभ आएका तर सामान्य प्रकृतिकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्ने प्रदेश सरकारको तयारी छ । बाह्रखरी बाट साभार