ओमकार बिशेष : गौरादहमा क्वारेन्टाइन कि बन्दीगृह ?

प्रधानमन्त्री के. पी. ओली निर्वाचित क्षेत्र रहेकोे झापाको दक्षिण पश्चिम भागमा पर्ने गौरादह नगरपालिकाले वडा नं. १ मा बनाएको क्वारेन्टाइनमा गम्भीर लापरबाही भएको खुलेको छ । बिगत १ हप्ता देखि क्वारेन्टाइन बसेका युवाले क्वारेन्टाइनमा आफुले भोगेको अवस्था बारे  सामाजिक संजालमा  पोस्ट गरे पछी लापरबाही रहेको तथ्य बाहिरिएको हो ।

 

बिज्ञापन

रोबर्ट आचार्यले आफ्नो सामाजिक संजालमा काचो भात खानु परेको,  २० जनाले एकै ठाउँको धारा प्रयोग गर्दा सामाजिक दुरी कायम गर्न नसकिएको,  शौचालयको व्यवस्थापन नभएको, हप्ता दिन नाघि सक्दा एक पटक पनि स्वाब संकलन नगरिएको, आवस्यक स्थानमा बत्तिको व्यवस्था नभएको, उचित तवरले फोहोर व्यवस्थापन हुन नसकेको भन्दै क्वारेन्टाइनको बसाइ अत्यन्तै कष्टकर रहेकोे उल्लेख गरेका  छन् । नगरपालिकाले ईन्टरनेट सुबिधा सहितको क्वारेन्टाइन बनाउने भनेता पनि उक्त सुबिधा बाट क्वारेन्टाइनमा बसेका लाई बन्चित गरिएको उल्लेख गर्दै चिन्ता प्रकट गरेका छन् । उनले कठिनाइका बारेमा  बारम्बार जानकारी गराउदा समेत आलटाल गर्ने गरेको गुनासो गरेका छन् ।

 

क्वारेन्टाइनमा बस्नेहरु बाटै त्यहाँ रहेकोे समस्याको बारेमा सामाजिक संजालमा पोस्ट गर्न थालेपछि नगरपालिका भित्रको व्यथिती र अनियमितता छचल्किएको सरोकारवाला बताउछन् । लामो छलफल, मिटिङ र मोटो बजेटमा निर्माण गरिएको क्वारेन्टाइन मै समस्या देखिए पछि  सामाजिक संजालमा तीखो आलोचना समेत सुरु भएको छ। २० जनाको लागि उचित प्रबन्ध गर्न नसक्नेले भोली आउन सक्ने भयावह अवस्थाको कसरी सामना गर्लान् त भन्ने चर्चा चुलिएको छ ।

 

सामाजिक संजालमा घिमिरे कस्यप लेख्छन्

 

‘अब यति थाहा पाएपछि त संयोजक र पुरै टिमलाई पनि जानकारी भईसक्या होला । म चिन्दिन तर आँखा देख्न र कान सुन्न सक्छु । अनि अवगत गराउन चाहान्छु, वहाँहरूलाई आजको क्रियाको प्रतिक्रया भोली देखिनेछ । अब जनता भाषण र आश्वासनले अघाउँदैनन । भोको पेट र रित्तो खल्तिले आफैं सिकाउंछ कि अगाडि विकल्प के छ भनेर ।’

 

सीता बराल लेख्छिन् ,’टेस्ट छिटो भन्दा छिटो हुनु पर्यो, सम्बन्धित निकायले ध्यान नदिएको हो त? यत्रो समय लाग्ने भए घोपामा पनि टेस्ट गरेकै हो, होम क्वारेन्टाइन बस्न मिल्ने थियो खोइ यहाँका ठुला बडा ले के गर्छन् नतिजा हेर्दै जाऔं।’

 

गौरादह लायन्सका चार्टर्ड प्रेसिडेन्ट तथा स्थानीय समाजसेवी डा. तिलक खनाल समग्र पद्धतिकै आलोचना गर्दै कल्याणकारी लोकतन्त्र नभएको टिप्पणी गर्छन् ।

 

मैले राजीनामा बुझाइ सकें : क्वारेन्टाइन संयोजक

 

नगर कार्यपालिकाले वडा नं. ७ वार्ड अध्यक्ष  बलराम खरेल क्वारेन्टाइन व्यवस्थापन समितिको संयोजक तोकेकोमा काम गर्न असहज भएको भन्दै पद बाट राजीनामा दिएको बताएका छन् । ‘अप्ठ्यारो परिस्थितिमा सहकार्य गरेर काम गर्ने वातावरण बनेन, भूगोल ठूलो भएकोले सबै क्वारेन्टाइनमा एक्लै पुग्दा वडा गतिविधि ठप्प हुने भए’ , खरेलले राजीनामा दिनुको कारण बारेमा ओमकार टाइम्सलाई बताए । आ-आफ्नो वडामा रहेका क्वारेन्टाइनको व्यवस्थापन जिम्मेवारी सम्बन्धित  वार्ड अध्यक्षले नै लिने गरि मौखिक सहमति भएको उनले जिकिर गरे ।

 

कार्यपालिकाको निर्णयबाट जिम्मेवारी पाएका व्यक्तिले राजीनामा स्वीकृत नै नभएको अवस्थामा जिम्मेवारी बाट भाग्न खोजेको आरोप उनी माथी छ । खरेल भन्छन्, ‘एक आपसमा सहयोगको भावना कसै संग छैन, मध्यरातमा काकर्भिट्टामा यात्रु अलपत्र भएको खबर पाउँदा सवारी चालकको व्यवस्थापन गर्नै हम्मे हम्मे पर्छ, यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ?’

 

संयोजक खरेलले यसो भनिरहदा गौरादह नगरपालिका भित्र जनप्रतिनिधि-जनप्रतिनिधि तथा जनप्रतिनिधि-कर्मचारी विचमा तिव्र असमजदारी रहेको प्रष्ट देखिएको छ । महामारी जस्तो भयावह अवस्थामा एक आपसमा समन्वय नहुदा गम्भीर परिस्थिति सृजना हुन सक्ने सरोकारवालाके विश्लेषण गर्ने गरेका छन्  ।

 

समस्या समाधान गरिन्छ- मेयर साह

 

क्वारेन्टाइन व्यवस्थापनमा बास्तवमै  जटिलता रहेकोे मेयर साह स्वीकार्छन् । उनी भन्छन्, ‘म आफै अनुगमनमा गएर त्यहाँको समस्या हेरेको छु र समस्या समाधानको लागि सम्बन्धित पक्षलाई निर्देशन दिईसकेको छ । अब चाडैं समस्या समाधान हुन्छ । जहाँसम्म स्वाब संकलनको कुरा छ तुरुन्तै परिक्षण गर्दा वास्तविक रिपोर्ट नआउन सक्छ किनकि उनिहरु बाटोमा आउदाआउदै पनि संक्रमित हुनसक्छन् , त्यसैले ५/७ दिन क्वारेन्टाइनमा बसेपछि परिक्षण हुन्छ ।संयोजकले राजीनामा दिएको सम्बन्धमा साहले भने, ‘वहाँले किन राजीनामा दिनु भयो त्यो छलफलको विषय हो, हाललाई वडा कार्यालयले आ-आफ्नो वडामा रहेका क्वारेन्टाइन हेर्ने गरि जिम्मेवारी बाडफाड गरिएको छ ।’