प्रदेश २ को नीति तथा कार्यक्रम : किसानका खातामा १०/१० हजार , निजी क्षेत्रलाई सहुलियत ऋण र अनुदान

धनुषा — प्रदेश २ सरकारले किसानका खातामा १०/१० हजार रुपैयाँ नगद हालिदिने भएको छ । मुख्यमन्त्री किसान उत्थान कार्यक्रमअन्तर्गत किसानलाई बीउ, मल र सिँचाइमा सघाउन आगामी आर्थिक वर्षको प्रथम चौमासिकदेखि खातामा नगद पठाइने प्रदेश प्रमुख तिलक परियारले आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा छ । यो योजनाअन्तर्गत १० कठ्ठासम्म जग्गा भएका र आफंै कृषिकर्म गर्ने किसानलाई समेटिने परियारले जानकारी दिए ।

 

बिज्ञापन

कोरोना महाव्याधिको संकटका बीच ल्याइएको नीति तथा कार्यक्रमले स्वास्थ्य पूर्वाधार सुधार र कृषिलाई जोड दिएको छ । जनकपुर प्रादेशिक अस्पताललाई ५ सय शय्यासहितको बनाएर स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिने भएको छ । प्रदेश प्रमुख तिलक परियारले उपचार सेवा सुदृढीकरणका लागि जोड दिइएका योजनासहित प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना र मध्यकालीन खर्च संरचनासहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

 

महाव्याधिले जनस्वास्थ्यमा परेका असर कम गर्न लगानी दोब्बर गरी उपचारका लागि पूर्वाधार र आवश्यक स्वास्थ्य सामग्रीहरू ल्याउनेमा कार्यक्रमले जोड दिएको छ । प्रदेश सरकारले जनकपुर प्रादेशिक अस्पताललाई विशिष्टीकृत सेवासहितको प्रतिष्ठानका रूपमा विकास गर्ने योजनासहित प्रादेशिक प्रयोगशालालाई अत्याधुनिक बनाउने, सरुवा रोग तथा आकस्मिक महामारीबाट बच्न एकीकृत स्वास्थ्य नीतिका साथै २ सय शय्याको सरुवा रोग नियन्त्रण अस्पताल बारा र महोत्तरीमा निर्माण गर्ने नीति लिइएको छ ।

 

पोषणयुक्त भोजन, व्यक्तिगत सरसफाइ, सामाजिक दूरी, मास्कको प्रयोग र योग, आयुर्वेदिक युनानीजस्ता वैकल्पिक उपचार विधिको प्रयोग गरी नागरिकको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि ल्याउने कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ । महाव्याधिका कारण रोजगारी गुमाएकाका लागि युवा स्वरोजगार तथा उद्यम विकास कार्यक्रम सञ्चालन गरिने र श्रमिकलाई खाद्यान्नसहित राहत उपलब्ध गराउने कार्यक्रम समेटिएको छ ।

 

प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत युवाहरुका लागि तालिम, लघु कर्जा, औजार खरिद गर्न अनुदान उपलब्ध गराउने पनि नीति तथा कार्यक्रममा छ । लकडाउनले मर्कामा परेको निजी क्षेत्रलाई सहुलियत ऋण र अनुदान उपलब्ध गर्ने पनि नीति लिइएको छ । महाव्याधिको धेरै असर परेका समुदायको पहिचान गरी सहयोग गर्ने, कृषि एम्बुलेन्स, किसानलाई बैंक खातामा अनुदान उपलब्ध गराउने, विपत्मा क्षति भएका किसानलाई राहत दिने, मुख्यमन्त्री किसान उत्थान कार्यक्रम लागू गर्ने, सभामुख निर्वाचन क्षेत्र विकास कार्यक्रम लागू गर्ने र आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने योजनाहरू नीति तथा कार्यक्रममा छ ।

 

नीति तथा कार्यक्रममा प्रदेश सरकारको पुराना कार्यक्रम बेटी पढाउ, बेटी बचाउ अभियान, मुख्यमन्त्री दलित गरिब आवास योजना, प्रदेश प्रमुख नैतिक शिक्षालाई निरन्तरता दिएको छ । प्रदेश सरकारले प्रदेश आयोजना बैंक, प्रदेश विकास बैंक र प्रदेश लगानी प्रवद्र्धन बोर्ड स्थापना गर्ने नीति लिइएको छ ।