एकैपटक ४ महत्वपूर्ण मन्त्रालय सचिवविहीन

काठमाडौं । सरकारका नीति, योजना र कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रमुख भूमिकामा रहेका ४ वटा मन्त्रालय सचिवविहीन बनेका छन् । कोभिड–१९ का कारण उत्पन्न संकट समाधान गर्न मन्त्री, सचिव तथा अन्य कर्मचारीले रातदिन काम गरेर परिणाम निकाल्नुपर्ने समयमा एकैपटक ४ मन्त्रालय सचिवविहीन हुन पुग्दा समस्या सिर्जना भएको छ ।

चारमध्ये लामो समयदेखि सचिवविहीन भएका तीन मन्त्रालयमा नयाँ सचिव नियुक्त नगरिँदा मन्त्रालयका महत्वपूर्ण काम अवरुद्ध भएका छन् । चारवटा मन्त्रालय सचिवविहीन हुँदा पनि नयाँ सचिव पठाउन नसकेपछि सिंगो सरकार र मुख्यसचिवको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न सिर्जना भएको छ । सचिव नहुँदा ती मन्त्रालयले महत्वपूर्ण र नीतिगत कार्य गर्न सकेका छैनन् ।

बिज्ञापन

कानुन न्याय तथा संसदीय मन्त्रालयका सचिव राजीव गौतम आइतबारदेखि सेवानिवृत्त भएपछि कानुन मन्त्रालय सचिवविहीन बनेको छ । अन्य महत्वपूर्ण मन्त्रालयका रूपमा रहेका शिक्षा विज्ञान तथा प्रविधि, श्रम तथा रोजगार र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि झन्डै एक महिनादेखि सचिवविहीन छन् । आजको राजधानी दैनिबाट