बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन, ८ जना प्रहरी नियन्त्रणमा

प्रधानमन्त्री निवास क्षेत्र बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन भएको छ ।

 

कोरोना संक्रमितको उचित उपचार, विदेशमा अलपत्र परेकालाई नेपाल फर्काई व्यवस्थापनलगायतका माग युवाले गर्दै प्रदर्शन भएका हुन् । उनीहरूले कोरोना, विदेशबाट आएकालाई राखिएकाे क्वारेन्टाइन व्यवस्थित नभएको, संक्रमित उचित उपचार नगरेको भन्दै विरोध प्रदर्शन गरिएका हुन् ।

 

कोभिड-१९ बाट नागरिकलाई जोगाउन सरकारी कदम अपुग तथा अव्यवस्थित भएको भन्दै मंगलबार भौतिक दूरी कायम राख्दै बालुवाटारको निषेधित क्षेत्रबाहिर गरेको शान्तिपूर्ण प्रदर्शन गरेको विवेशील नेपाली दलले जनाएको छ ।

 

प्रदर्शनमा उत्रिएका– ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई भृकुटीभण्डपमा राखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

 

विवेशील दलका पूर्वअध्यक्ष उज्ज्वल थापासहितका प्रदर्शनकारी पक्राउ परेका हुन् । पूर्वअध्यक्ष थापासहितका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दुर्व्यवहार, पानीको फोहोराको प्रयोग र कुटपिट गर्दै उनीहरूको गिरफ्तारी गरेकोमा विकशीलले निन्दा गरेको छ । गिरफ्तार प्रदर्शनकारीहरूको तत्कालै रिहाइको माग गरेको छ ।

 

प्रदर्शनमा उत्रिएकालाई नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनलाई रोक्नका लागि प्रहरीले पानीको फोहोरा प्रहार र लाठी चार्जसमेत गरेको थियो ।