सरकार बाध्य भएर लकडाउन खुकुलो बनाउने मनस्थितीमा, बोलायो मन्त्रिपरिषद्को बैठक

काठमाडौं- आज मन्त्रिपरिषद बैठक बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुनेछ ।

 

लामो समयदेखिको लकडाउनले जनजीवन प्रभावित बन्दै गएपछि सरकारले यसबारे निर्णय गर्न लागेको हो । अब लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।

 

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ । दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

 

यसअघि काेभिड १९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले पनि लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाएको थियो ।

 

त्यस्तै लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरेका थिए ।

 

कोडिभ–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले पनि विभिन्न क्षेत्रका विज्ञसँग लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा छलफल गरेको थियो ।

 

सरकारले पहिलोपटक ११ देखि १८ चैतसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक साता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो ।

 

त्यसलाई निरन्तरता दिँदै ३ वैशाख, त्यसपछि १५ वैशाख, २५ वैशाखसम्म लकडाउन गरिएको थियो ।

 

देशका विभिन्न भागमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनले निरन्तरता दिँदै ५ जेठसम्म पुर्‍याएको थियो भने त्यसपछि थप गर्दै २० जेठ र पछिल्लोपटक थप गर्दै ३२ जेठसम्म लकडाउन लम्ब्याइएको छ ।