पिसिआर गर्ने कि आरडिटी? मैले भन्ने विषय होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पिसिआर र आरडिटीको विषय आफूले टुंगो गर्ने विषय नभएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले ती विषय प्राविधिक भएको टिप्पणी गरेका हुन्।

बिज्ञापन

‘कतिपय विषय प्राविधिक विषय छन् जो राजनीतिक हिसाबले टुंगो लगाउने विषय हैनन्। कुन चिज प्रयोग गर्ने, पिसिआर गर्ने कि आरडिटी प्रयोगको विषय मैले भन्ने विषय होइन’, ओलीले भने, ‘यो प्राविधिकले भन्ने विषय हो। कुन प्रयोग गर्न सम्भव हुन्छ कुन हुन्न भन्ने कुरा।’

उनले महामारीको विषय दलीय विषय हुन नहुने समेत बताए।

‘महामारी जस्तो विषय दलीय विषय होइन। यो मानवीय विषय हो’, ओलीले भने, ‘सरकारको विषयमात्र होइन सामाजिक विषय हो। यो सत्तापक्षको मात्र विषय होइन यसले सत्तापक्ष-प्रतिपक्ष छुट्याउँदैन, साझा विषय हो। हामी त्यसैगरी लडिराखेको छौं।’

उनले अहिले सरकारले ४ हजार ५ सयदेखि ५ हजारको दैनिक पिसिआर गर्न सक्ने अवस्था रहेको बताए। उनले दैनिक विदेशबाट नेपाली ल्याउँदा त्यस क्षमताको ख्याल गर्नुपर्ने अवस्था रहेको बताए।

प्रधानमन्त्री ओलीले आफूले कोरोनाको विषयमा हुने आलोचनालाई सकारात्मक रूपमा लिने बताए।

‘कसैले अन्यथा आग्रहका साथ कुनै सुझाव देला वा टिप्पणी गर्ला भन्ने लाग्दैन’, ओलीले भने, ‘हरेक नेपाली कोरोना विरूद्धको लडाइँको सिपाही हो। कसैबाट आउने टिप्पणी र सुझावलाई नकारात्मक रूपमा लिन चाहन्नँ।’

प्रधानमन्त्री ओलीले क्वारेन्टिनको तयारी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार गर्न सहज नरहेको बताए।

उनले ५० हजार व्यक्तिलाई क्वारेन्टिनमा कति ठाउँ चाहिन्छ? भन्दै प्रश्न गरे।

साथै, सरकारले गरेको प्रयास शतप्रतिशत नभएको समेत उनले स्वीकारे।

‘यो छापावाल सुन पनि ९९.९९ प्रतिशत ग्यारेन्टी गर्छ, १०० भन्दैन’, ओलीले भने, ‘हाम्रा प्रयास पनि सय प्रतिशत सफल छन्, १०० प्रतिशत ठीक मात्र कदम अगाडि बढेका होलान् म भन्दिनँ। कमी हुन सक्छन्। तर हाम्रा प्रयास प्रभावकारी भएकाले धेरै विकराल रूप अन्यत्र लिँदा हाम्रोमा ९ बाट १० पुग्न सकेको थिएन। दुनियाँमा मृत्यु हुने भयावह हुँदा हाम्रोमा १ पनि थिएन।’

उनले कतिपय कमजोरी भएको पनि स्वीकार गरे।

‘सुरूमा परीक्षण गर्न हङकङ पठाउनु परेको थियो भने अहिले २१ वटा ठाउँमा परीक्षण भएको छ। केही ठाउँमा व्यवस्थापनको कमजोरी देखिन्छ। मेसिन एक ठाउँ गएको पार्टस् अर्को ठाउँमा गएको छ। महिनौंसम्म जोड्ने काम भएका छन्। यस्ता कमी देखिएका छन् त्यसलाई हामी चुस्त दुरूस्त गर्दैछौं।’