
काठमाडौं, २९ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज भए पनि विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताउनुभएकाे छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण यो वर्ष एसईई परीक्षा नलिने निर्णय गरेलगत्तै मन्त्री पोखरेलले समाजिक सञ्जाल फेसबुकबाट एसईईका विद्यार्थीलाई परीक्षा बोर्डले नै प्रमाणपत्र दिने जानकारी गराउनु भएकाे छ ।
‘कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित माध्यमिक शिक्षा कक्षा दशको अन्त्यमा हुने परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरि निर्णय गरेको छ । यस सम्बन्धि थप विवरण सम्बन्धित निकायहरुले उचित समयमा उपलब्ध गराउने छन,’ मन्त्री पाेखरेलले भन्नुभएकाे छ ।
देशभरका शिक्षण संस्थाहरू बन्द रहेका र विद्यालयहरूमा क्वारेन्टिन सञ्चालन गरिएकाले विगतमा झै परीक्षा सञ्चालन गर्न सकिने उहाँले बताउनुभएकाे छ र
‘कोभिड–१९ को महामारीका कारण देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, विद्यालयहरूमा क्वारेन्टिन सञ्चालन गरिएको र कोरोना संक्रमणको जोखिमका बीच विद्यालयहरूमा परीक्षा केन्द्र कायम गरी विगतमा झै परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेको सन्दर्भमा विद्यार्थीहरूको अध्ययन निरन्तरता तथा माथिल्लो तहमा अध्ययनको अवसर सुनिश्चित गर्नु राज्यको दायित्व बोध गरेर क्याविनेटले निर्णय गरेको छ,’ पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ ।