
काठमाडौं : सरकारको निर्णय अनुसार आज (शुक्रबार) जोड नम्बरका गाडीलाई चलाउन दिइएको छ ।

लकडाउनलाई खुकुलो बनाउँदै निजी सवारीसाधनलाई जोड–विजोर प्रणालीमा चलाउन दिने सरकारको निर्णय अनुसार आज जोड नम्बरका गाडीलाई चलाउन दिइएको हो ।



बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो भने सरकारका प्रवक्ता डा. युवराज खतिवाडले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर जोड–विजोडको नीति लागू गरिएको बताएका थिए ।

त्यसअनुसार ट्राफिकले जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नुपर्ने गरी नियम बनाएको छ ।
तर, शुक्रबार बिहान सडकमा विजोर नम्बरका सवारीसधान पनि सञ्चालन हुन थालेपछि ट्राफिक प्रहरीले कारबाही शुरु गरेको छ । यसरी बिहानमात्र विजोर नम्बरका सवारीसाधन चलाउने २ सय ६९ कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए ।
यद्यपी एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन । उपत्यकाको हकमा तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिएको छ ।