झापामा जुवाको खालबाट ७ युवक पक्राउ

भद्रपुर । बन्दाबन्दीको बेला जुवा खेल्ने झापाको कनकाई नगरपालिकाका सात युवा रु ७१ हजार नगदसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार कनकाई नगरपालिका–३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईँको घरको भुइँतलामा गलैँचा ओछ्याएर जुवा खेलिरहेका बेला प्रहरीको टोलीले शनिबार दिउँसो ती युवालाई पक्राउ गरेको हो ।

शनिवार विशेष सूचनाको आधारमा प्रहरीले जुवाखालमा रेड हानेको थियो । सोहि क्रममा कनकाई–३ का ५३ वर्षीय को विष्णु प्रसाद उप्रेती, ४५ वर्षीय लिलु अग्रवाल, ३६ वर्षीय सुरज चुडाल, ४० वर्षीय हरि खरेल, ३१ वर्षीय ओमप्रकास चापागाई, ३८ वर्षीय मान बहादुर श्रेष्ठ, ३५ वर्षीय हरि बहादुर श्रेष्ठलाई पक्राउ गरिएको छ ।

प्रहरीले जुवाको खालबाट सो नगद, क्यान्डिड पाउडर र एक थान गलैँचा बरामद गरेको जनाएको छ । पक्राउ परेकालाई अनुसन्धान गरी कारवाहीका लागि अनारमनी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।