इनरुवामा आगलागी हुँदा दुई घरमा क्षति

विराटनगर । सुनसरीको सदरमुकाम इनरुवामा आगलागी हुँदा दुईवटा घर र चारवटा पसलमा क्षति पुगेको छ । आइतबार बिहान हनुमान वस्त्रालयबाट सुरु भएको आगोले वस्त्रालय रहेकै घरमा रहेको पसल र सँगै रहेको हार्डवेर पसलमा क्षति पुगको हो ।

बिहान करिब ५ बजेबाट सुरु भएको आगो पाँचवटा दमकलको सहयोगले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

बिज्ञापन

वराहक्षेत्र, दुहवी, इटहरी, धरान, सुन्दरहरैचा, विराटगनरका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा करिब ४ घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

आगलागी कसरी भयो भन्ने खुलिसकेको छैन । वस्त्रालय रहेको घरमा बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । आगलागीबाट भएको धनमालको क्षति यकिन गर्न विवरण संकलन भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।