कोरोना जित्न युद्ध शैलीमा तयारी : मन्त्री ढकाल

काठमाडौँ, ७ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी प्रयोगशालाको क्षमता विकास गरिने बताउनुभएको छ । उहाँले प्रयोगशाला पूर्ण रूपमा सञ्चालन र जनशक्ति परिचालनको तयारी भइरहेकाले असार १५ भित्र प्रतिदिन कम्तीमा १० हजारको पीसीआर परीक्षण गरिने बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार आयोजित पत्रकार भेटघाटमा मन्त्री ढकालले सङ्कलन गरिएको स्वाब निजी क्षेत्रको प्रयोगशालामा दैनिक तीन हजार पठाएर पीसीआर परीक्षण गराइनेछ भन्नुभयो । मन्त्री ढकालले जनशक्ति थपेर ल्याब २४ घण्टा नै सञ्चालन गरिने र प्रत्येक प्रदेशमा दैनिक एक हजार परीक्षण गर्ने व्यवस्था मिलाइने बताउनुभयो । उहाँले सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना रहेकाले तयारी र नियन्त्रण गर्न विज्ञसँगको परामर्श अनुसार नै मन्त्रालय अघि बढेको जानकारी दिनुभयो ।

बिज्ञापन

उहाँले कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय मातहत रहेका सबै निकायको एकीकृत धारणा बनाएर अगाडि बढिरहेको चर्चा गर्नुभयो । सङ्क्रमण तीव्र हुँदै गएको अवस्थामा विज्ञको परामर्शमा होम आइसोलेसनको अवधारणा अनुसार नियन्त्रण कार्य अगाडि बढाइनेसमेत जानकारी उहाँले दिनुभयो । उहाँले सङ्क्रमण बढ्दै गएमा त्यस अनुसार नै मन्त्रालयले नियन्त्रणको रणनीति परिवर्तन गर्दै जानेछ भन्नुभयो । कोरोना महामारी जित्न युद्धकै शैलीमा मन्त्रालयले समन्वयात्मक रूपमा काम गरिरहेको मन्त्री ढकालले बताउनुभयो । याे खबर अाजकाे गाेरखापत्र दैनिकमा छ ।