
काठमाडौं- काठमाडौं जिल्ला अदालतमा अबदेखि कोरोना परीक्षण नगरिएका अभियुक्तको अदालती कारबाही नहुने भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यस्तो आदेश दिएको हो ।
अदालतको निर्देशनपछि अब आरोपी, प्रतिवादी र उसलाई अदालतमा लिएर आउने सुरक्षाकर्मी समेतको कोरोना जाँच परीक्षण रिपोर्ट अनिवार्य रूपमा मिसिल साथ पेश गर्नुपर्ने छ।
अदालतले आरडीटि जाँचलाई मान्यता नदिने पनि फैसला गरेको छ ।
हाल ‘आरडीटी’ परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आएका आरोपीको हकमा अदालती प्रक्रिया अघि बढाइएकोमा अब पीसीआर परीक्षण नेगेटिभ आएकाहरुको हकमा मात्रै अदालती प्रक्रिया अघि बढाइने नियम लागू गरिएको हो ।
अदालतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र विश्व स्वास्थ्य संगठनले पीसीआर विधिकै परीक्षणलाई मान्यता दिएकाले पीसीआर विधिकै परीक्षण गरेरमात्र अदालतमा पेस गर्न आदेश दिएको हो । कोरोना परीक्षण भने सरकारी खर्चमै गर्ने प्रबन्ध मिलाउन पनि आदेश दिइएको छ ।
आदेशसँगै अब प्रहरीलाई हिरासतमा रहेका कुनैपनि अभियुक्त र आरोपीको पीसीआर परीक्षण गराउन दबाब बढेको छ ।