काभ्रेमा ९० लाख बराबरको बोधिचित्त लुटपाट

काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ मा ९० लाख बराबरको बोधिचित्त लुटपाट भएको छ।

हतियारसहित आएका ३०/३५ जनाका लुटेरा समूहले बिहीबार राति १२ बजे लुटपाट गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।

बिज्ञापन

‘लुटेरा समूह हातहतियारसहित आएका रहेछन्। उनीहरूले रूखबाटै बोधिचित्त झार्ने काम गरेछन् र पेस्तोल पनि पड्काएछन्। एउटा खोका पनि भेटिएको छ,’ उनले भने।

प्रजिअ तिमिल्सिनाका अनुसार बोधिचित्त संरक्षणका लागि १५ जना व्यक्ति रहेको र सिसिटिभी जडान गरिएको थियो। लुटपाटका क्रममा दुई समूहबीच कुटपिट भएको थियो।

‘सुरक्षाका लागि बसेका पाँच जना व्यक्ति सामान्य घाइते भएछन् र सिसिटिभी समेत तोडफोड गरेछन्,’ उनले भने, ‘हामीले जानकारी पाएलगत्तै तीन वटा टोली पठायौं।’

लुटपाटका क्रममा तर्साउने उद्देश्यका लागि होक्स प्रयोग गरिएको उनले बताए।

नेपाली सेनाको टोलीले आज बिहान होक्सको डिस्पोज गरिसकेको छ।

काभ्रेका एसपी रवि पौडेलले भने उक्त घटना विप्लव समूहले गरेको आशंका गरे।

‘यस्तो बम राखेर सडक अवरूद्ध गर्ने, पेस्तोल देखाउने भन्ने कुरा सामान्य व्यक्तिहरूले गर्न सक्दैन। अरू सामान्य गुण्डाहरू भए पनि जंगल भएर हिँड्न सक्दैन। प्रारम्भिक अनुसन्धान अनुसार चाहिँ उनीहरू विप्लव समूहकै हुनुपर्छ,’एसपी पौडेलले भने,’त्यहाँ संयोगले अहिले सिन्धुलीका इन्चार्ज सागर मैनाली भन्नेको घर त्यहीँ छ। त्यहाँको घर मालिकलाई पनि पटक/पटक धम्की दिने गरेको छ।’