
रौतहट। रौतहटका दुईजना वडा अध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । रौतहटको बौधिमाई नगरपालिकाका वडा नम्बर ७ र ८ का वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वडा अध्यक्षसँगै नगरपालिकामा कार्यरत केही कर्मचारीमा पनि संक्रमण देखिएको छ । सो नगरपालिकामा कार्यरत आइटी अफिसर, कम्प्युटर अपरेटर तथा सामाजिक परिचालकमा पनि संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।



संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखिएको र उनीहरुको कन्ट्याक टेसिङ्गको काम सुरु गरिसकेको पनि उहाँले बताउनुभयो । प्रशासनले सो नगरपालिकालाई शिल गरेर सम्पूर्ण कार्यपालिका सदस्य तथा नगरपालिकाका कर्मचारीहरुको पनि स्वाव संकलन प्रक्रिया अगाडि बढाइसकेको छ ।

नगरप्रमुख राजिव रंजन यादवका अनुसार गत सोमबार सम्पूर्ण कार्यपालिका सदस्य र नगरपालिकाका कर्मचारीको स्वाव संकलन गरेर परिक्षणको लागि पठाइएको थियो । र सोको रिपोर्टमा दुईजना वडा अध्यक्ष र केही कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।