
सल्यान: आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको शारदा नगरपालिका–१२ का ३९ वर्षीय एक पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई करणी गरेको आरोपका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घरमा कोही नभएको मौका छोपेर पटक पटक ती पुरुषले छोरीलाई बलात्कार गर्ने गरेको प्रहरीले बताएको छ। घर नजिकैबाट उनलाई पक्राउ गरिएको बताइएको छ। काठमाडौंमा आफन्तकोमा बस्दै आइरहेकी बालिका बन्दाबन्दीको समयमा घर आएकी थिइन्।
वैशाख महिनादेखि नै विभिन्न डर त्रास देखाई करणी गरी रहेको गोप्य सूचनाका आधारमा बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए। पक्राउ परेका व्यक्तिविरुद्ध जबर्जस्ती करणी तथा हाडनाता करणीसम्बन्धी मुद्दा दर्ता गरिएको छ। उनलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको खतिवडाले जानकारी दिए।