क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोनाको संक्रमण पुष्टि

बागलुङको ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

क्वारेन्टाइनमा मृत्यु भएका निसीखोला गाउँपालिकाका युवकको कोरोना भाइरस परीक्षणका लागि लिइएको स्वाब रिपोर्ट पोजेटिभ आएको प्रादेशिक प्रयोगशालाले जनाएको छ ।

बिज्ञापन

बागलुङको क्वारेन्टाइनमा आइतबार बिहान निधन भएका २९ वर्षीय युवकमा कोरोनाको संक्रमण पुष्टि भएको गण्डकीका प्रदेश स्वास्थ्य प्रमुख डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

ती युवक भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसिरहेका थिए । युवक मिर्गौला र फोक्सो सम्बन्धी रोगबाट पीडित रहेको बताइएको छ ।

कोरोना रिपोर्ट पोजेटिभ आएपछि नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने तयारी थालेको छ । उनका ६ वर्षका छोराको रिपोर्ट शंकास्पद आएकाले पुनः स्वाब संकलन गरिने गण्डकी प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक सपना सुवेदीका बताइन् । उनले श्रीमति र परिवारका सदस्यमा कोरोना नरहेको पुष्टि भएको बताइन् ।

यो सँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । यसअघि शनिबारमात्रै गोरखाको पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुष र रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।