
गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा दुई परिवारको सामूहिक हत्या घटनाको सत्यतथ्य चाँडै सार्वजनिक गर्ने बताएका छन्। प्रमुख प्रतिपक्षी कांग्रेसले ९ जनाको सामूहिक हत्याबारे जानकारी दिन सरकारसँग संसद्मा माग गरेको थियो। राष्ट्रियसभाको बुधबारको बैठकमा उनले घटना अनुसन्धानमा सहयोग गर्न स्थानीयसँग आग्रह गरे।
उनले मारिएका ९ र रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका अर्का एक जनाको शव पोस्टमार्टम भइरहेको बताए। घटनाको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न प्रहरीलाई निर्देशन दिइएको उनले बताए।
अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थल पुगेको र बाँच्न सफल १३ वर्षीया सिता खुजुमको दमकस्थित अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। सोमबार राति बमबहादुर फियाक र ज्वाईं धनराज शेर्मासहित दुवै परिवारका ९ जनाको विभत्स हत्या भएको थियो।