अपहरणको नाटक गरेर परिवारसँग फिरौती माग्ने युवक पक्राउ

काठमाडौं । अपहरणको नाटक गरेर आफ्‍नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजगढ-३ घर भई ललितपुरको इमाडोलमा बस्‍ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ ।

विभागका अनुसार उनले असार १ गते परिवारलाई मनि ट्रान्सफरबाट रकम पठाउँछु भनी डेराबाट हिँडेको र पछि मोबाइल स्वीच अफ गरी परिवारलाई फिरौती रकम माग्‍न अपरहणको नाटक गरेको प्रहरीको भनाइ छ । उनले फिरौती रकमको लागि परिवारलाई नाटकीय रुपमा भिडियो क्लिपसमेत पठाएको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीमाथि सार्वजनिक उपद्रयाई गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी वर्त सातदोबाटो ललितपुर पठाइएको उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ ।