थप ७० जनामा कोरोना संक्रमण पुष्टि, ४३१ डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । शुक्रबार १ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

बिज्ञापन

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार ७० जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेका हुन् । उनका अनुसार सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको छ । नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप ४३१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म ८ हजार ४४२ जना संक्रमणमुक्त भएको उनले बताए । कूल संक्रमितमध्ये ५०.५ प्रतिशत निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घण्टाको अवधिमा ३ हजार ६४८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण भएको छ । क्वारेन्टाइनमा रहेनको संख्या २४ हजार ९७ जना रहेको छ भने ८ हजार २३९ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । काठमाडौं संखमुलका एक पुरुष, काठमाडौं गोकर्णका एक पुरुष, र सिन्धुपाल्चोक पाँचपोखरी थाङपालका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।