
काठमाडौं । यातायात व्यवसायी सार्वजनिक यातायात सञ्चालनका लागि तयार भएका छन् । यसअघि गाडी बाहिर ननिकाल्ने निर्णय गरेका व्यवसायीहरुले उठाएका केही मागहरु सम्बोधन गर्ने आश्वासनपछि गाडी चलाउन सहमत भएका हुन् । आफ्ना मागहरुमा सरकार गम्भीर बनेको निष्कर्षसहित उनीहरुले सवारी सञ्चालनको पूर्वतयारी तत्कालै सुरु गर्ने सहमति गरेका छन् । तर, सवारी सञ्चालनको थप मोडालिटीबारे भने बुधबार तय हुनेछ ।

सोमबार नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष र मजदूर संगठन संम्मिलित कार्यदलले यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाका अधिकारीहरुसँग छलफल गरेको थियो । सो छलफलले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चलाउने मोडालिटीको सम्बन्धमा छलफल गरेको थियो । उक्त छलफल सकारात्मक भएको र यसले सवारी सञ्चालनको मार्ग प्रशस्त गरेको व्यवसायी र मजदूरहरुको निष्कर्ष छ ।



अखिल नेपाल यातायात मजदूर संगठनका अध्यक्षसमेत रहेका कार्यादलका सदस्य दीपक केसीले छलफल सकारात्मक भएपछि तत्काल बाहिर निस्कनसक्ने सवारीसाधन सञ्चालनलाई तयारी अवस्थामा राख्न आफूहरु सहमत भएको बताए । योसँगै व्यवसायी र मजदूरहरुले गाडी सञ्चालनको पूर्वतयारी समेत थालेको समेत उनको भनाइ छ ।

केही मागमा प्रष्टीकरण, केही पूरा गर्ने आश्वासन
यातायात व्यवसायी र मजदूरहरुले सार्वजनिक यातायात सञ्चालन गर्न आफ्ना केही मागहरु सम्बोधन हुनुपर्ने पूर्वशर्त राखेको थियो । सोमबारको बैठकमा विभागले व्यवसायी र मजदूरका ती मागमध्ये केही काग पूरा गर्ने आश्वासन दिएको थियो । केही मागका बारेमा भने प्रष्ट पार्ने प्रयास मात्रै गरिएको छ ।