प्रधानमन्त्री ओलीलाई रावलको प्रश्न : ‘राम र अयोध्याबारे बहस गर्ने बेला हो यो ? अरु केही विषय छैन ?’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले राम र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिएको अभिव्यक्तिमाथि प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले हिन्दुहरूका भगवान् श्रीराम भारतमा नभई नेपालमा जन्मिएको बताएका थिए ।

त्यसबारे नेता रावलले मंगलबार ट्वीट गर्दै भारतले मिचेका सीमा, तराईका बस्ती डुबान र कालापानीबाट भारतीय फौज हटाउनुपर्ने विषय उठाउनुपर्नेमा प्रधानमन्त्रीले यस्ता अभिव्यक्ति दिएर विषयान्तर गर्न खोजेको बताएका छन् ।

‘सीमा क्षेत्र मिचिएको,तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ?’ भन्दै उनले ‘विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो ?’ भनेर ट्वीटरमार्फत् प्रश्न गरेका छन् ।