कर्णालीमा मेसिन धेरै, परीक्षण थोरै

वीरेन्द्रनगर — सुर्खेतस्थित प्रदेश अस्पतालमा चैत १९ गते कोरोना परीक्षणका लागि आरटी–पीसीआर मेसिन जडान गरियो । एक दिनमा १२ देखि १५ जनाको स्वाब परीक्षण हुने भनिए पनि मेसिनले त्यसअनुरूप काम गर्न सकेन ।

कर्णालीमा बाहिरबाट भित्रिनेको संख्या बढ्दै गएपछि वैशाख १६ गते प्रदेश अस्पतालअन्तर्गतकै वीरेन्द्रनगरकै पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा ठूलो क्षमताको पीसीआर मेसिन जडान गरियो । त्यसको एक सातापछि वैशाख २२ गते जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफैं खरिद गरी पीसीआर मेसिन जडान गर्‍यो । असार १६ गते दैलेख र १८ गते रुकुम पश्चिममा प्रयोगशाला स्थापना गरी पीसीआर परीक्षण थालिएको छ । तर परीक्षण पहिलाको तुलनामा घटेको छ ।

प्रदेशका चार जिल्लामा एउटा ठूलो र तीनवटा साना क्षमताका मेसिन सञ्चालनमा छन् । ती मेसिनले दैनिक साढे १२ सय हाराहारी स्वाब परीक्षण गर्न सक्छन् । तर, असार २५ गते प्रदेश अस्पतालमा २ सय ३२, प्रतिष्ठानमा ४३, दैलेखमा ३० र रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा १ सय ९४ जनाको पीसीआर परीक्षण भएको निर्देशनालयले जनाएको छ । यस्तै, २७ गते प्रदेशमा १ सय ९४, जुम्लामा ३ सय ४७ र दैलेखमा ७८ जनाको परीक्षण भएको थियो । गत आइतबार प्रदेशमा १ सय ९२, जुम्लामा १ सय ३९, दैलेखमा २२ र रुकुमपश्चिममा १ सय ३० जनाको परीक्षण भएको थियो ।