नेकपामा शीर्ष नेतृत्वको व्यवस्थपनमा समस्या : मन्त्री ज्ञवाली

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीमा शीर्ष नेतृत्वको व्यवस्थापनमा समस्या देखिएको बताएका छन् । पार्टीभित्र अन्तरकलह चर्किएको समयमा लामो फेसबुक स्टाटस लेख्दै उनले पार्टीले सामना गरिरहेको समस्या वैचारिक–राजनीतिक नभएको उल्लेख गरेका हुन् ।

मन्त्री ज्ञवालीले नेतृत्वबीच उत्पन्न असमझदारीले वैचारिक राजनीतिक विषयमा केन्द्रित हुने मौका नमिलेको भन्दै चिन्ता सकेत प्रकट गरेका छन् । पार्टीका बैठकहरु मुलुकका जल्दाबल्दा समस्याबाट बेखबर, बेपर्वाह या निरपेक्ष रहँदा जनताले खबरदारी गर्नुपर्ने अवस्था आएको भन्दै चिन्ता समेत प्रकट गरेका छन् ।

बिज्ञापन

जनताका अपेक्षा र नेतृत्वको कार्यसम्पादनबीचको दूरीले सिर्जना गरेको असन्तुष्टिलाई सम्बोधन गर्न नसके त्यसले संकट ल्याउने ज्ञवालीले बताएका छन् । उनले इतिहासमै पहिलोपल्ट हासिल भएको राजनीतिक स्थायित्व एवं भर्खर सुरु भएको समृद्धिको यात्रा कतै ‘दुई दिनको जुनेली, फेरि उही अँध्यारो रात’ भने झैँ हुने त होइन ? भन्ने प्रश्न पनि गरेका छन् ।

उनले नेकपाले नयाँ उचाइबाट राष्ट्रियताको आन्दोलन अगाडि बढाएकाले त्यसलाई कमजोर बनाउन र मुलुकमा पुनः अस्थिरता सिर्जना गर्ने खेल भैरहेको पनि उल्लेख गरेका छन् ।