नेप्से ६ प्रतिशतले बढेपछि सेयर कारोबार बन्द

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचकमा आइतबार सकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको छ । कारोबार सुरु भएको पहिलो सवा १ घण्टामा नेप्से ६ प्रतिशतले बढेपछि सकारात्मक सर्किट ब्रेकरमार्फत सो दिनको कारोबार बन्द गरिएको हो ।

आइतबार बजार खुलेदेखि नै उच्च दरले नेप्से बढ्न थालेको थियो । यही कारण १२ बजेर ८ मिनेटमा ८४.२६ अंकले बढ्यो । अघिल्लो दिनको तुलनामा ६.०४ प्रतिशतले बढी हो ।

बिज्ञापन

सो अवधिमा नेप्सेमा ६ सय ६३ वटा कारोबारमा १ सय ११ कम्पनीका १ लाख ८० हजार ६ सय कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ करोड २५ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्‍याएपछि बजारमा सकारात्मक प्रभाव परेको बताइएको छ । ‘मौद्रिक नीतिको प्रभाव हो,’ एक ब्रोकरले भने, ‘मौद्रिक नीतिले सम्बोधन गरेपछि लगानीकर्ता उत्साहित भएका छन् ।’

साताको पहिलो दिन आइतबार सेयर बजार खुलेको १ घन्टा १० मिनेटमा बजार ६ प्रतिशतले बढेपछि यो दिनको लागि कारोबार बन्द भएको छ । सो दिन कारोबारमा आएकामध्ये प्राय सबै समूहको उपसूचक बढेका छन् ।

नेप्सेको वर्गीकरणमा ‘क’ वर्गका कम्पनीका सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ५.८९ प्रतिशत र व्यापारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक ६.२२ प्रतिशतले बढे ।

आइतबारको कारोबारमा गुारास लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकलगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतले भन्दा धेरैले बढेको छ ।