किसानको पीडा: युरियामल खोज्दै झापाका किसानहरू भारतिय बजारमा

झापा: युरिया मलको हाहाकार भए पछि दक्षिण पश्चिम झापाका किसानहरु जोखिम मोलेर भारत बाट लुकिछिपी मल ल्याउने गरेको पाइएको छ । यस भेगको गौरिगन्ज र गौरादह, कमल तथा शिव सताक्षी आसपास रहेका सिमावर्ती क्षेत्रबाट खुलम खुल्ला भारतीय मल भित्रिने गरेको पाइएको हो । धान खेतीमा प्रयोग गरिने युरिया मलको अभाव भए पछि किसानहरु अनेकौं जोखिम मोल्दै भारतिय भुमी सम्म पुगेर मल ल्याउन बाध्य रहेको पाइएको छ ।

गौरादह वार्ड नं. २ का किसान देवी प्रसाद घिमिरे मल अभाव भएको बारे आफ्नो अनुभव यसरी सुनाउछन्, ‘हिजोआज धान खेतीमा मलको साच्चै ठूलो अभाव भएको छ । कोरोना महामारीमा गौरिगन्ज र गौरादह आसपास फत्तेपुर, बगाचौधरी र तुलाचन लगायतका ठाउँबाट किसानहरु जोखिम मोलेर मल ओसारेको मैले आँखाले देखेको छु, म प्रत्यक्षदर्शी नै हो, किसानहरु मरितरी साइकलमा मल बोकेर फर्किन्छ्न् , खोलो तर्न समस्या हुँदा फेरि भारतियलाइ प्रती बोरा ५० देखि १ सय सम्म तिरेर गुहार्न पुग्छन्, खोलामा डुबुल्की मार्दै ल्याइएको मल किसानले खेतबारीमा प्रयोग गर्ने गरेका छन् ।’

भारतिय बजारमा युरिया मल भारतीय रुपैयाँ प्रती बोरा ४ सय पर्ने बताइन्छ । भारतिय बजार बाट ल्याइएको मलको गुणस्तर पनि राम्रो नहुने प्रयोगकर्ताको भनाइ पाइन्छ ।

‘बिहान ४ बजे देखि नै मल लिन जानेको लस्कर सुरुहुन्छ, १/२ बोरा मल लिनको लागि भारतीय बजार सम्म पुग्नुपर्छ ।’ ग्वालडुब्बाका एक किसानले मल लिन जादाको अनुभव शेयर गर्दै ओमकार टाइम्सलाई बताए ।

मलको हाहाकार भएको बारे गौरिगन्ज गाउँपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष मखना महतो तत्काल मल आयात गर्न साल्ट ट्रेडिङ संग समन्वय भइसकेको बताउछन् । ‘कृषकको समस्या प्रती हामी चिन्तित छौं, यथासिघ्र मल भित्र्याउनको लागि विशेष छलफल अगाडी बढाइएको छ’, महतो ले भनें ।

यता गौरादह नगरपालिका संग यश विषयमा जिज्ञासा राख्न खोज्दा गौरादहका नगर प्रमुख रोहित कुमार साह संग सम्पर्क हुन सकेन भने उप प्रमुख गिता भेट्वाल यस बारे आफूलाई केही थाहा नभएको बताइन् । उनले भनिन्, ‘मलको अभाव र सिमापारी बाट मल ल्याइन्छ भन्ने बारे मलाई कुनै जानकारी छैन, हाम्रो कृषि शाखा संयोजक लाई सोध्नुहोस् ।’

अर्को हप्ता मल आउने

गौरादह नगरपालिकाको कृषि शाखा संयोजक समेत रहेका वार्ड नं. ३ का वार्ड अध्यक्ष गजेन्द्र घिमिरे अर्को हप्ता बजारमा मल आइपुग्ने बताउँछन् । ‘साल्ट ट्रेडिङले अर्को हप्ता मल पठाइदिने बुझेको छु, डिभिजन सहकारी संग समेत कुरा भएको छ, अर्को हप्ता देखि युरिया मलको समस्या रहदैन’, घिमिरेले भने ।

कमल गाउँपालिकामा समस्या छैन

यस सम्बन्धमा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले अहिलेसम्म मलको अभाव भएको भनेर कसैले खबर नगरेको बताउछिन् । ‘किसानहरु धमाधम धान रोप्दैछ्न्, अहिले नै युरियाको आवस्यकता नहोला, श्रावणको अन्त्य सम्ममा युरिया आइपुग्ला’, अध्यक्ष काफ्लेले भनिन् । मल बिक्रीवितरण गर्न अनुमती प्राप्त सहकारीहरु गाउँपालिकामा ६/७ वटा सूचीकरण भएका र उनीहरु संग परामर्श गरेर मलको आयात गर्ने उनको भनाइ छ । कमल गाउँपालिकाका कृषकहरु लुकिछिपी भारतिय बजारमा पुगेर मल ल्याउदा रहेछन् नी ? भन्ने ओमकारको जिज्ञासामा त्यस बारे आफुलाइ केही थाहा नभएको अध्यक्ष काफ्लेले बताइन् । ‘त्यस्तो त नहुनु पर्ने, तपाईंहरुलाई जानकारी होला, मलाई त कसैले रिपोर्टिङ गरेको छैन’, काफ्लेले बताइन् ।

झापाको दक्षिण पश्चिम् भेगमा बसोबास गर्ने बहुसंख्यक मानिसको पेसा कृषि रहेको छ । राज्यले कृषि क्षेत्रलाई बलियो र निर्वाहमुखी बनाउनको लागि अरबौं लगानी गरेको भएता पनि स्थानीय तह संचालकले समयमा यस तर्फ ध्यान नपुर्‍याउदा कृषक चिन्तित छन् । सरकारी उदासीनताका कारण कृषकले समयमा मल, बीउ जस्ता अत्यावश्यक बस्तुहरुको पर्याप्त आपूर्ति गर्न नसक्दा कृषकहरु जोखिम मोलेर भारतिय भुमी सम्म लुकिछिपी पुग्न बाध्य हुनु आफैंमा दुर्भाग्यपूर्ण भएको सरोकारवालाको निस्कर्ष छ ।