
काठमाडौं । बिहीबार रिहा भएका पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दाविरुद्ध सरकारले हालेको पुनरावलोकनको पेसी आइतबारका लागि तोकिएको छ । महान्यायाधिवक्ता कार्यालयले कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिएकोमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतले फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालय पुनरवालोकन गर्न सर्वोच्च पुगेको हो ।



प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, शुष्मालता माथेमा, डा मनोज कुमार शर्मा, डा आनन्द मोहन भट्टराई र सपना मल्ल प्रधानले यो मुद्धा हेर्न मिल्नेछैन । सो मुद्दामा यी न्यायाधीशको यसअघि नै आदेश तथा फैसला दिने कार्यमा संलग्नता रहेकाले अब अन्य न्यायाधीशको इजलाशले मुद्धा हेर्नुपर्नेछ ।

अर्थात पुनरावलोकनको अनुमति पाएमा यो मुद्दामा उनीहरुबाहेक सर्वोच्च अदालतका अन्य ३ वा सो भन्दा बढी न्यायाधीशहरुको इजलासबाट सुनुवाई हुनेछ ।
संवैधानिक व्यवस्था अनुसार पुनरावलोकनको व्यवस्था भएकाले यसबाट अन्तिम टुङ्गो नलाग्दासम्म यो मुद्दा विचाराधीन समेत बनेको छ ।
सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएको भन्दै काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
तर, जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्चले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो ।
सर्वोच्चले कोइरालाको कैद सजाय ८ वर्ष ६ महिनामा घटाएको थियो ।
नेपालको कानुन अनुसार जन्मकैद भन्नाले २० वर्षको सजाय रहन्छ । तर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेज बहादुर केसीको संयुक्त इजलाशले ‘सजाय चर्को पर्न जाने’ भन्दै कोइरालाको सजायअवधि ८ वर्ष ६ महिनामा घटाइदिएका थिए ।
२०६८ माघ ८ गते पक्राउ परेका रञ्जनको ८ वर्ष ६ महिनाको जेल अवधि बुधबार साँझबाट सकिएको थियो । त्यसपछि बिहीबार बिहानमात्रै कारागार कार्यालय डिल्लीबजारबाट रञ्जन रिहा भएका थिए । रञ्जनलाई लिनका लागि उनकी प्रेमिका तारा रेग्मी कारागार कार्यालय पुगेकी थिइन् ।
सरकारले रञ्जनको सम्बन्धमा भएको फैसला कानुनसँग बाझिएको र सर्वोच्चकै पुरानो नजिरसँग नमिलेको दावी गरेको छ ।