
काठमाडौँ — पशुपतिनाथ जग्गाधनी । मोही व्यक्ति । जग्गा प्रयोगचाहिँ चर्चका लागि । कुत बुझाउनुपर्ने क्रिश्चियन समुदायको चर्चले । जग्गा प्रयोग गरेबापत पशुपतिनाथलाई बर्सेनि कुत बुझाउँछ क्रिश्चियन समुदायको संस्थाले । काठमाडौं महानगरपालिका-७ को कित्ता नम्बर ९९ र २३४ मा पशुपतिनाथको जमिन मिसनरिज अफ च्यारिटीले कुत बुझाएर चर्च सञ्चालन गरेको हो । मिसनरिजले जमिन वर्षमा १ हजार ७ सय ८८ रुपैयाँ कुत बुझाउँदै आएको छ ।
दुई कित्ता गरेर २ रोपनी १ पैसा २ दाम जमिन प्रयोग गरेको छ। ‘यो हिन्दु धर्म लोप गराउने षडयन्त्र हो,’ पशुपतिनाथ मन्दिरका भण्डारी केदारमान भण्डारी भन्छन्, ‘हिन्दुको क्षेत्रमा अन्य धर्मले अतिक्रमण गर्नु हुँदैन। यो कानुनविपरीत छ।’
एक धर्मको क्षेत्रको जमिनमा अर्काे धर्म वा सम्प्रदायले संरचना बनाउनु कानुनविपरीत हुन्छ। सर्वाेच्च अदालतको नजिरअनुसार पनि एक धर्मको स्वामित्वमा भएको जमिनमा अन्य धर्मले प्रयोग गर्न पाउँदैन। कोषका सदस्यसचिव प्रदीप ढकाल मोहीले जग्गा किनबेच गर्दागर्दै चर्चको स्वामित्वमा पुगेको बताउँछन्। ‘जग्गा किनबेच गर्न यो समुदायले पाउने, ऊ समुदायले नपाउने भन्ने छैन। नेपालको संविधानले पनि सम्पत्तिसम्बन्धी अधिकार सुनिश्चित गरेको छ,’ उनले भने, ‘त्यही अधिकारअनुसार जग्गा किनियो, मिसनरीले प्रयोग गर्यो। तर, यो जायज होइन।’
कालोपुलमा मिसनरीले सञ्चालन गरेको ज्ञानेश्वर चर्च पशुपतिनाथ क्षेत्रको चार किल्लाभित्र पर्छ। पशुपति क्षेत्र विकाष कोषले चर्चलाई बिस्तारै हटाउने प्रक्रिया अघि बढाइने जनाएको छ। ‘बृहत् गुरुयोजना बन्दै छ,’ सदस्य सचिव ढकाल भन्छन्, ‘गुरुयोजना लागू हुने बेलामा यो चर्च पनि हामी लिन्छौं। अब पशुपति क्षेत्रका भू-उपयोगिता सहितको गुरुयोजना बन्दै छ।’
पशुपति क्षेत्रको चार किल्लाबारे लिच्छविकालीन अभिलेख र हिमवत खण्ड लगायतका प्राचीन ग्रन्थमा पनि उल्लेख छ। परापूर्वकालदेखि तोकिएको चारकिल्ला एउटा छ। पछि २०४३ सालमा राजपत्रमै सूचना निकालेर तोकिएको चार किल्ला फरक छ। पहिला फराकिलो थियो, पछिल्लो चार किल्ला साँघुरिएको छ। ‘हिन्दुको यस्तो आध्यात्मिक पक्ष जोडिएको ठाउँमा अन्य धर्मको अतिक्रमण हुनु जायज छैन,’ ढकाल भन्छन्।