थप २५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै देशभर कुल संक्रमितको संख्या २१ हजार नाघेको छ । हालसम्म २१ हजार ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालय जनाएको छ । यीमध्ये ५ हजार ९२५ जना सक्रिय संक्रमित छन् । उनीहरूको देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आज ६५ जनाले कोरोना भाइरसलाई जितेका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १५ हजार २६ पुगेको छ । हासम्म कोरोना संक्रमणबाट देशभर ५८ जनाको ज्यान गएको मन्त्रालयको तथ्यांक रहेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ७ हजार ६८७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । योसँगै नेपालमा पीसीआर विधि ४ लाख बढीको कोरोना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार ४ लाख ६ हजार ५९४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । १० हजार ४५२ जना देशका विभिन्न ठाउँमा निर्माण गरिएका क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।