बैगुन्धुरा बचत तथा ऋण सहकारीको ३२ लाख कता हरायो ?,एनएमसीलाई मर्ज गर्न किन हतार ?

झापा: गौरादह नगरपालिका वार्ड नं. ९ बैगुन्धुरा बजारमा रहेको बैगुन्धुरा बचत तथा ऋण सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी बिच एकीकरण हुने भनिए तापनि एकीकरण हुने सम्भावना न्यून हुँदै गएको छ । बैगुन्धुरा सहकारीको आन्तरिक हिसाब किताब गर्दा करिब ३२ लाख रुपैयाँको हिसाब नदेखिए पछि एकीकरण हुने सम्भावना कमजोर हुँदै बताइएको छ। गतहप्ता मात्र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अडिटरहरु आएर लेखा परिक्षण गर्दा करिब ३२ लाख बराबरको रकम बेरुजु देखिएको खुलेको छ ।

ठुलै रकम बेरुजु देखिएको भएता पनि एन.एम.सी. ले भने एकीकरण प्रक्रियालाई जतिसक्दो चाडो अगाडी बढाउन प्रयास गर्दै आएको बुझिएको छ । उसले आफ्नै खर्चमा बैगुन्धुरा सहकारीको कार्यालय भित्र प्रवेश गरि आफ्नो लोगो झल्काउने गरिको रंग रोगन समेत गर्न थालेको पाइएको छ । एकातिर ३२ लाख बराबरको हिसाब मिलान गर्न नसक्दा सहकारी संचालकको टाउको दुखेको छ भनें अर्को तिर एन.एम.सी. लाई एकीकरण हुन हतार भएको उसको क्रियाकलापबाट छर्लङ्ग हुँदै गएको छ।

बिज्ञापन

बैगुन्धुरा सहकारी संस्थाका अध्यक्ष प्रकाश चन्द्र खरेलको भनाइलाई मान्ने हो भने नेपाल बहुउद्देश्यीय सहकारी संस्थासंगको एकीकरण प्रक्रिया नरोकिने बताउछन् । हाम्रो अडिटरले अडिट गर्दा एक रुपैयाँ बेरुजु देखिएको थिएन यस्तो अचम्म लाग्दो बेरुजु कसरी देखियो भन्दै उनी समेत आश्चर्य प्रकट गर्छन् । एन. एम. सी. का अडिटरले निकालेको बेरुजुलाई हामीले विश्वास नै गर्न सकेका छैनौं, खरेल बताउछन् । आन्तरिक लेखा धमाधम भइरहेकोले अर्को हप्ता बस्ने विषेश साधारणसभामा सबै कुरा प्रष्ट पारिने खरेलको दावी छ । एकीकरण हुने भनेर योजना मात्र बनाउनु भएको रहेछ, एन. एम. सी. ले त रंग लगाउन पनि भ्याए छ नी ? भन्ने जिज्ञासा राख्दा अध्यक्ष खरेल रंग रोगन मात्र नभएर केही स्टेसनरी समेत आइसकेको बताउछन् ।

जागिन्द्र अधिकारी बैगुन्धुरा सहकारीका संचालक समिति सदस्य हुन् । अर्को हप्ता सम्ममा बेरुजु भएको नभएको पत्ता लाग्ने आशामा रहेका अधिकारीलाई पनि पैसाको हिसाब किताब नदेखिदा निकै अनौठो लागेको छ । उनी भन्छन्, ‘अहिले नै के भएको भनेर ठोकुवा साथ भन्न सक्ने अवस्थामा हामी छैनौं, यो विषयले संचालक समितिलाई निकै चिन्तित पारेको छ, सायद एक पटक फेरि हिसाब हेर्दैछौं, सत्य तथ्य चाडै सार्वजनिक गरिने छ ।´

उता नेपाल बहुउद्देश्यीय सहकारीका अध्यक्ष राम चन्द्र उप्रेती जसरी भए पनि दुई संस्थालाई एकीकरण गरेरै छोड्ने जिकिर गर्छन् । ‘३२ / ३४ लाख बेरुजु देखिन्छ, त्यो उहाँहरुले मिलाउनु हुन्छ हामी मर्ज गर्छौं ´अध्यक्ष उप्रेती बताउछन् । बेरुजु देखिदै गर्दा पनि तपाईंहरु मर्ज हुन हतारिनु भएको छ, कानुनी रूपमा तपाईंहरुलाइ जटिलता आउदैन त ? भन्ने जिज्ञासामा उप्रेती भन्छन्, ‘त्यो संस्था संचालकले हात उठाउछन् र हामी सक्दैनौ भन्छन् भने मर्ज हुने कुरै आउदैन ।’ मर्जिङको प्रक्रिया अगाडी नबढ्दै एन. एम. सी. ले आफ्नो संस्थाको लोगो झल्किने गरि रंग रोगन सुरु गर्नु भएछ, स्टेसनरी समेत ल्याइसक्नु भएछ, पार्टेसन समेत गरिएछ यदि मर्ज भएन भने त्यो खर्चको जिम्मेवारी कसले लिन्छ भन्ने ओमकार टाइम्सको प्रश्नमा उप्रेती गैरजिम्मेवारी पुर्ण जवाफ दिदै भन्छन्, ‘२/४ हजार खर्च भयो होला, त्यो संस्थाले तिर्छ भित्तामा रंग लगाएको कुरा खासै महत्त्वपूर्ण कुरा होइन, तपाईंलाई जे लाग्छ त्यही गर्नुस् ।´

एकातिर राष्ट्रिय सहकारी बिकाश बोर्डको कार्यकारी सदस्य जस्तो जिम्मेवार पदमा रहेका उप्रेती अध्यक्ष रहेको सहकारीले नै जथाभावी सहकारीको पैसा खर्च गर्नु खेदपूर्ण त देखिन्छ नै भने अर्कोतिर , राज्यको नीति अनुसार एकीकरण गर्ने भन्दै सहर बजारका ठुला सहकारीहरु गाउँ गाउँमा छिर्दै स्थानीय गरिब किसानले थोपा थोपा निक्षेप संकलन गरेर स-साना गर्जो टार्न स्थापना गरेका सहकारी एकीकरण गर्ने बहानामा संचालकहरु कतै चुक्ने त होइनन् ? भन्ने बहसले बजार राम्रै तताउन थालेको छ ।