
प्रदेश १ मा हालसम्म ६० हजार बढीको पीसीआर परीक्षण गरिएको छ । गत २८ चैतदेखि मंगलबार साँझ सम्म ३ वटा प्रयोगशालाबाट ६० हजार ६ सय ८० वटा पीसीआर परीक्षण भएको छ ।
प्रदेश १ का जिल्लाको ५६ हजार ४ सय १६ र प्रदेश १ बाहिरका जिल्लाको ४ हजार १ सय ७४ वटा पीसीआर परीक्षण भएको प्रदेश प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवले बताए ।
उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १८ हजार ८ सय ७, कोशी अस्पताल विराटनगरले २२ हजार ३ सय ५२ र प्रदेश प्रयोगशालाले १९ हजार ५ सय २१ वटा पीसीआर परीक्षण गरेको जानकारी दिए ।
परीक्षण गरिएका मध्ये १ हजार ५ सय ६३ को रिपोर्ट पोजिटिभ आएको छ । ५४ हजार ८ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेश १ मा ८ जनाको मृत्यु भईसकेको छ । प्रदेश १ मा मोरङमा सबैभन्दा बढी संक्रमण देखिएको छ । मोरङमा ६ सय ५७ जना संक्रमित भएका छन् ।
मोरङमा १६ हजार ९ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको छ । विराटनगर महानगरपालिका क्षेत्र भित्रका ९ हजार ६ सय ८० को परीक्षण भएको निर्देशक यादवले बताए ।
महानगरपालिकाले पठाएको ४ हजार, कोशी अस्पतालको बुथमा संकलन भएको १ हजार २ सय, प्रदेश ल्याबले महानगर क्षेत्रभित्र संकलन गरेको ३ हजार र विराटनगरका विभिन्न संघ संस्थाबाट लिइएको नमुना १ हजार ४ सय ८० रहेको उनले बताएका छन् ।
निर्देशक यादवका अनुसार अहिले प्रदेश प्रयोगशाला विराटनगरमा १ हजार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९ सय, कोशी अस्पताल विराटनगरमा ८ सय ५० स्वाब ‘होल्ड’ मा रहेको बताए । उनले दैनिक ७ सय स्वाब होल्डमा हुने गरेको बताए ।
सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ मा रहेका ३ वटा प्रयोगशालाले दैनिक १ हजार ५ सय स्वावको परीक्षण गर्न सक्ने क्षमता रहेको बताए ।
झापाको मेची अस्पतालको ल्याव सञ्चालनको तयारीमा रहेको उनले बताए । मेचीको ल्याब सञ्चालनमा आएपछि परीक्षण क्षमता बढ्ने डा. मेहताले बताए ।