गौरादहमा अनुदानमा पाएको ‘बोको’ किसानले बेचेपछि

झापा: गौरादह नगरपालिका वार्ड नं. ३ का एक किसान विष्णु खतिवडाले अनुदानमा लिएको वोयर जातको बोको बिक्रि गरेको पाइएको छ । गोठ सुधार कार्यक्रम अन्तर्गत उनले नगरपालिका बाट २० हजार अनुदान लिएका थिए ।

 

बिज्ञापन

गोठ निर्माण गरेपछि वोयर जातको उन्नत बोको वडा कार्यालय बाट उपलब्ध गराइएको बुझिएको छ । नश्ल सुधार योजना अनुसार बितरण भएको बोको वडा कार्यालयलाई पत्तै नदिइ बिक्रि गरेको थाहा पाएपछि वडा कार्यालयले चासो राखेको बुझिएको छ । बिक्रि गरेकै हो भनेर उनले गल्ती स्वीकार गरेको र २० हजार नगद फिर्ता गराइएको वडा अध्यक्ष गजेन्द्र घिमिरेले ओमकार टाइम्सलाई बताए ।

 

‘बोको बेचिएको सूचना पाएपछि हामीले खोजी गर्दा गोठसुधारको लागि लिएको पैसा फिर्ता गरिसकेका र चाडै अर्को बोको जस्ताको त्यस्तै किनेर वडालाई बुझाउन निर्देशन दिएका छौँ’, नगर कृषि तथा पशु शाखा संयोजक समेत रहेका घिमिरेले बताए ।

 

किसान भन्छन्,’अन्जानमा बेचें, गल्ती भयो’

 

बोका बेच्ने किसान बिष्णु खतिवडा बोका बेचेर आफुले गल्ती गरेको स्वीकार गर्छन् । ‘बेच्न पाइदैन भनेर वडाले मलाई कुनै जानकारी नै गराएको छैन, नगरपालिकाले भनेपछि २० हजार फिर्ता गरिसकेको छु, बोको पनि फिर्ता गर्छु भनेकै छु, अरुले पनि किनबेच गरेको मलाई जानकारी छ, मैले नै अनुदानको बोको ५० हजारमा किनेको छु त ।’

 

अनुगमन किन फितलो भन्ने सम्बन्धमा थप जानकारी लिन खोज्दा मेयर रोहित साह संग सम्पर्क हुन सकेन भने उपमेयर गिता भेट्वालको जवाफ यस्तो पाइएको छ: ‘वडाले वितरण गरेको कुरा वडा संगै बुझ्दा राम्रो हो, वडाले वितरण गरेको बाख्राको रेकर्ड नगरपालिका संग हुने कुरै भएन ।’ अनुदानको बोका वितरण गर्दा कति वर्षको सम्झौता गरिन्छ भन्ने पनि मलाई थाहा भएन । अनुगमनको जिम्मेवारी त तपाईंलाई नै हुन्छ नी होइन ? भन्ने जिज्ञासा राख्दा भेट्वाल भन्छिन, ‘खोइ कसैले अनुगमन गरौं भनेकै छैनन्, कसरी गर्नु र, वडाले गरेको वितरण वडाले नै अनुगमन गर्ला ।’

 

१ वर्ष अनिवार्य पाल्नै पर्ने

 

१ वर्ष सम्म अनिवार्य पाल्नै पर्ने त्यसपछि किसानले आफू खुशी गर्न पाउने सम्झौता गर्ने गरिएको वडा अध्यक्ष घिमिरे बताउछन् । वडाले १ वर्षे सम्झौता गर्ने गरेको भनिरहदा नगर पशु शाखाले भने अनुदानमा दिइने उन्नत जातको बाख्रामा ५ वर्ष सम्म बेचबिखन गर्नै नमिल्ने गरि सम्झौता गर्नुपर्ने शाखा प्रमुख सन्तोष भण्डारी को भनाइ रहेको छ । ‘१ वर्षे सम्झौता गर्नु व्यवहारिक नहुने र यसो गर्दा किसान जिम्मेवार नहुने तथा नश्ल सुधार गर्न कठिनाइ हुने पशु स्वास्थ्यकर्मीहरु बताउछन् ।

 

‘एउटा बोकालाइ ५ वर्ष सम्म गर्भाधारणको लागि प्रयोग गर्न मिल्छ, हाडनाता सम्बन्ध नहोस् भनेर १ वर्ष पछाडी उन्नत जातका बोकाहरु एक आपसमा साटासाट गर्नु राम्रो हो’, कृषि शाखा प्रमुख भण्डारीले बताए ।

 

राज्यले किसानलाई सुबिधा दिने भन्दै गाउँ गाउँमा बितरण गरिएका नगद तथा जिन्सी सामाग्रीको बारेमा नगरपालिकामा स्पष्ट रेकर्ड राखिने गरेको पाइदैन । अनुगमन समितिले गम्भीरता नदेखाउदा र कडाइका साथ अनुगमन गर्न नसक्दा राज्यको कोषको रकम चरम दुरुपयोग भएको र सोचे जस्तो उपलब्धि हासिल हुन नसकेको मा सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् ।